News

गगनलाई झलनाथको कटाक्षः चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?

गगनलाई झलनाथको कटाक्षः चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चर्को आलोचना गरेका छन् । उनले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् ? भन्दै प्रश्न गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री थापाप्रति लक्षित गरेर ‘अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?’ भनी सोधे।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुँदा थापाले नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटो हल्ला फैलाइएको भन्दै आक्रोश पोखेका थिए । उनले त्यतिबेला अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मोडेर थानकोट कटाइयो, नागरिकता खोसियोस् र सम्पत्ति जफत गरियोस भन्दै भाषण गरेका थिए।

थापाको सोही भनाइतर्फ लक्षित गर्दै खनालले अमेरिकी सेनाको स्टेट पार्टरसिप प्रोग्राममा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासको विषय उल्लेख भएको मस्यौदा सार्वजनिक भएको बताए । ‘त्यतिबेलै मान्छेहरुले भनेका थिए एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भनेर। त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाइ चार पाटा मुडेर निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ? यो डकुमेन्टले देखाएन ? मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा’– उनले भने।

नेपालले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइ सकेको छ। गृहमन्त्री खाँडले सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै त्यो निर्णय परराष्ट्र मन्त्रालयमार्फत पठाएका जानकारी दिए ।

०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । सोही दिनको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागी नहुने निर्णयको जानकारी गराउने निर्णय पनि गरेको थियो ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने र भ्रमणका क्रममा एसपीपी थप सम्झौता हुने तयारी भएको भन्दै २६ जेठ २०७९ मा प्रतिनिधिसभामा सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रश्न उठाएपछि यो विषयमा बहस सुरु भएको थियो । त्यसको केही दिनमा उच्च क्षेत्रमा सैन्य अभ्यास गर्ने लगायतका विषय समावेश भएको एसपीपीको १० बुँदे मस्यौदा नै सार्वजनिक भएपछि एसपीपीबारे चौतर्फी प्रश्न उठेको थियो ।

सार्वजनिक विवरण अनुसार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पहिलो पटक २०१५ मा नेपाललाई एसपीपीमा सहभागी गराउन आग्रह अमेरिकालाई पत्र लेखेका थिए । त्यसबेला अमेरिकाले एसपीपीलाई प्राकृतिक विपदमा मानवीय सहयोग गर्ने कार्यक्रमका रुपमा प्रचार गरेको थियो ।

०१५ को पत्र अनुसार अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी गराउने निर्णय गरेन । त्यसपछि नेपालले २०१७ मा नेपालले फेरि अमेरिकालाई पत्र लेखेर एसपीपीमा सहभागी गराउन भनेपछि ०१९ मा अमेरिकाले नेपाल एसपीपीमा आवद्ध भएको र एसपीपी आईपीएस अन्तर्गत लगिएको सार्वजनिक गरेको थियो।
 

विशेष