News

करोडौं घुसको बार्गेनिङ गरेको आरोप लागेका न्यायाधिश निलम्वित

करोडौं घुसको बार्गेनिङ गरेको आरोप लागेका न्यायाधिश निलम्वित

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराम तामाङलाई धरौटीमा छुटाउ करोडौंको डिल गरेको आरोप लागेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन्।

न्यायाधीश  कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ । 

न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले न्याय परिषद ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले पैंतालिस दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।  सो समयसम्म प्रतिवेदन पेश गर्न नसक्ने अवस्था भए परिषद्ले अवधि थप गर्न सक्ने समेत व्यवस्था रहेको छ । 

छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् । न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनलाई जेल चलानको आदेश दिएको थियो ।

सिआइबीमा एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए । पूर्वसांसदसमेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए । ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।
 

इच्छाराम तामाङ

विशेष