News

बजेटमा माओवादी नेताकै तिव्र असन्तुष्टि, अर्थमन्त्रीको दाँतमा ढुङ्गा

बजेटमा माओवादी नेताकै तिव्र असन्तुष्टि, अर्थमन्त्रीको दाँतमा ढुङ्गा

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आगामी आर्थिक वर्षको वजेटमा नेकपा एमालेका नेताहरुले तिव्र आलोचना गरिरहेका छन् । हुँदा हुँदा माओवादी केन्द्रका नेताहरुबाटै निरन्तर विरोध सुरु भएपछि मन्त्री शर्मा दाँतमा ढुङ्गो लागे झै भएका छन् ।

माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले विहिवार प्रतिनिधि सभाको वैठकमा वजेटमाथिको छलफलमा बोल्दै सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमासम्बन्धी कार्यक्रम बिमा कम्पनीलाई दिने गरी ल्याइएको कार्यक्रमलाई समर्थन गर्न नसकिने बताए।

उनले अर्थमन्त्री जनार्दन शर्माले सरकारको बिमा नीति बुझ्न नसकेको आरोप पनि लगाए । स्वास्थ्य बिमासम्बन्धी कार्यलाई बुझ्न नसक्दा कम्पनीको जिम्मा लगाउने योजना आएको टिप्पणी उनले गरे। ‘मैले समर्थन गर्न नसक्ने कुरा, स्वास्थ्य बीमा कम्पनीलाई दिने छ । वर्तमान प्रधानमन्त्रीको नेतृत्वको बेलामा ८० दिनजति म क्याबिनेटको सदस्य भएँ । त्यतिबेला पास गरेको ऐन हो यो’ उनले भने–‘प्रचण्डको नेतृत्वमा गगनजीहरूले लामो गृहकार्य गर्नुभएको थियो, त्यसलाई हामीले सदनबाट पास ग-यौं।’

अहिले यसलाई कम्पनीलाई दिने भन्ने कुरा कुनै कोणबाट हेर्दा पनि आफुले बुझ्न नसकेको उनले वताए । ‘म पुनरावलोकन गर्न आग्रह गर्दछु किनभने यो युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको हो । नाफा र नोक्सानको कोणबाट आएको होइन’ पोखरेलले भने–‘हामीले डब्ल्यूएचओसँग जेजति गाँसिएर संरचना बनाएका छौं, यो कुरा ऐनसँग पनि मेल खाँदैन । यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको कुरा हो । यसको सरोकारवाला मन्त्रालय स्वास्थ्य मन्त्रालय नै हो । यसलाई अर्थतिर लैजान खोजिएको जस्तो बुझिएको छ ।’

यस अघि माओवादीकै नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभामा वोल्दै एमसीसीको विषय वजेटसँग जोडेर सरकारको आलोचना गरेका थिए । संसदमा एमसीसी पास गर्दा १२ वुँदे संकल्प प्रस्ताव पास गरेको र त्यसमा अमेरिकाले सहमति नजनाए त्यही दिन एमसीसी खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले १२ बुँदेका विषयमा अमेरिकाले एक शब्द पनि नबोलिकन लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माणको कुरा कहाँबाट आयो ? भन्दै प्रश्न गरेका थिए । 

यो पनि,
बजेटको छलफलमा एमसीसीको विषय उठाएर नारायणकाजीले उधुम मच्चाए

विशेष