News

जुरेली माथि फेरी पनि दुर्ब्यवहार, युवा संघका नेता विरुद्ध प्रहरीमा उजुरी दिने तयारी

जुरेली माथि फेरी पनि दुर्ब्यवहार, युवा संघका नेता विरुद्ध प्रहरीमा उजुरी दिने तयारी

गत वर्षको असार १५ मा दोहोरी गायक छत्र शाहीसँग हिलोमा डुबुल्की मारेर भाइरल बनिन् रेस्लर अस्मिता सुनार ‘जुरेली’ । धेरैले उनलाई रोपाइँका नाममा उच्छृंखलता देखाएको भनेर आलोचना गरे । तर, उक्त घटनामा उनको दोस थिएन, छत्रले एकाएक अस्मितालाई समातेर हिलोमा पछारेका थिए ।

यसपालिको रोपाइँमा पनि उनीमाथि फेरी गलत हरकत भएको छ । युवासंघले आयोजना गरेको रोपाइँ कार्यक्रममा भाग लिन भैंसेपाटी पुगेकी जुरेलीलाई आयोजक मध्येकै एक युवाले दुर्ब्यवहार गरेका छन्।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि थिए भने युवा नेता महेश बस्नेतको पनि सहभागिता थियो । रोपाइँ कार्यक्रममा रमाइरहेका बेला अस्मितालाई एक पुरुषले च्याप्प समातेर हिलोमा पछारे।

एक अपरिचित पुरुषले आफूलाई एक्कासि कम्मरमा समातेर हिलोमा पछारेको अस्मिताले बताइन् । ‘म आफ्नै धुनमा थिएँ, एक जना चिन्दै नचिनेको मान्छेले बलपूर्वक समातेर हिलोमा लडाएपछि स्तब्ध भएँ,’–उनले सुनाइन् ।

ती व्यक्तिले आफूलाई गलत नियतका साथ हातपात गरेको अस्मिताको आरोप छ । ‘म रोपाइँ उत्सवमा रमाइलो गर्न गएकी थिएँ, तर युवा संगठनकै एक व्यक्तिबाट दुर्ब्यवहारको शिकार भएँ,’ उनले भनिन् ।

हिलोमा लडाए लगत्तै अस्मिताले प्रतिकारको प्रयास गरेकी थिइन् । तर, ती पुरुषले आफूलाई हात र घाँटीमा अँठ्याएको तथा कपडासमेत च्यातिदिएको उनको आरोप छ । सार्वजनिक भएको एक भिडियोमा पनि एक बलिष्ठ पुरुषसँग अस्मिताको घम्साघम्सी भएको देखिन्छ । उनले पुरुषको कपडा तानेकी छन् भने पुरुषले उनलाई बलियोसँग अँठ्याएका छन् । उनीहरुबीच घम्साघम्सी परेपछि युवासंघका अन्य व्यक्तिहरू आएर छुट्याएका थिए ।

सो घटना हुँदा प्रमुख अतिथि पोखरेल हिँडिसकेका थिए भने महेश बस्नेत पनि देखिएनन्। अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धर भने रोपाइँ कार्यक्रममासहभागी थिइन् । घटना हुँदा उनी पनि त्यहीँ रहेको जुरेलीको दाबी छ ।

आफूमाथि दुर्ब्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीमा जान सक्ने उनले बताइन् । ‘गत वर्षको घटनामा पनि मेरो केही दोष थिएन । छत्र शाहीले मलाई जबरजस्ती समातेर हिलोमा लडाएका थिए । तर, बेकारमा किन विवाद गर्नु भनेर मैले उनको विरुद्धमा कतै पनि बोलिनँ’ उनले गुनासो गर्दै भनिन्–‘यो वर्ष त चिन्दै नचिनेको मान्छेले यस्तो गरे । रोपाइँमा रमाउन गएकी म रुँदै फर्किनु पर्यो। यो पटक चुप लागेर बस्दिनँ।’

रोपाईंस्थल नजिकै रहेको प्रहरी चौकीमा आफना च्यातिएका कपडा छोडेर आएको उनले बताइन् । आफूमाथि गलत हरकत गर्ने पुरुषको नाम थाहा नभए पनि उनी युवासंघकै सदस्य भएको उनको भनाइ छ ।

रेसलर अस्मिता ‘जुरेली’ का नामले परिचित छिन । उनी एमाले कार्यकर्ता पनि हुन् । केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’ नामको पार्टी दर्ता हुँदा उनी त्यसको सचिव थिइन् । विगतमा उनी मोडलिङ पनि गर्थिन् ।

विशेष