News

देउवा विरुद्ध बन्दैछ चक्रब्युह ? यसरी मिल्न थाल्यो शेखर र रामचन्द्रको कुरा

देउवा विरुद्ध बन्दैछ चक्रब्युह ? यसरी मिल्न थाल्यो शेखर र रामचन्द्रको कुरा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र घेरावन्दीमा पर्ने सम्भावना वलियको वन्दै गएको छ। सभापतिका प्रतिस्पर्धी शेखर कोईराला पक्ष त देउवासँग असन्तुष्ट छ नै महाधिवेशनमा देउवाकै पक्षमा लागेका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि देउवाको ब्यवहारका कारण विरक्तिएको पाईएको छ।

कोईराला पक्षले देउवा एकलौटी ढंगले अघि बढेको निष्कर्षसहित विधानअनुसार गठन गर्नुपर्ने विभाग र कार्यसम्पादन तथा संसदीय समितिलगायत पनि गठन नगरेको आरोप लगाएको छ।

देउवाले महाधिवेशनपछि सबैको सल्लाहअनुसार अघि बढ्ने प्रतिवद्धता जनाए पनि कुनै पनि निर्णय लिनुअघि नेता कोइराला पक्षसँग परामर्श नगरेको, भ्रातृ संस्थाका नेतृत्व नियुक्त गर्दा एकलौटी गरेको, केन्द्रीय सदस्य मनोनीत गर्दा पनि देउवाले आफूनिकटलाई मात्रै स्थान दिएको कोईराला पक्षको गुनासो छ।

कोइराला पक्षले महाधिवेशनमा आफ्नो टिमबाट पदाधिकारी र केन्द्रीय सदस्य उठेकाहरूसँग आज गरेको छलफलमा महामन्त्री गगन थापा पनि सहभागि थिए । यसैगरी, चन्द्र भण्डारी, बलबहादुर केसी, दीलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, गोविन्द पोखरेल, प्रतिमा गौतम, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायतको पनि उपस्थित थियो।

यता, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति देउवाले समय अनुरुप काम गर्न नसकेको गुनासो गरेका छन् । प्रधानमन्त्री देउवाले सधैं हतार छ भन्दै सवै काम अलपत्र पारेको उनले वताए ।

पूर्वसांसद मञ्च नेपालले ६३ औं संसद दिवसका अवसरमा संघीय संसद सचिवालयमा आज गरेको कार्यक्रममा ‘काम छ भन्दै प्रधानमन्त्री देउवा’ हिडेपछि पौडेलले असन्तुष्टि ब्यक्त गरेका हुन।

‘हाम्रो प्रधानमन्त्रीजी हतार छ भनेर जानुभयो। ठिक छ, देशको प्रधानमन्त्रीलाई समय कम हुन्छ मलाई त्यो पनि थाहा छ। सबै प्रधानमन्त्रीलाई हुन्छ। तर हाम्रो प्रधानमन्त्रीलाई कति हतार छ  भन्ने कुरा त कामकारबाहीबाट देखिन्छ’ उनले भने–‘प्रधानमन्त्रीले मलाई समय पुगेन भन्ने, काम सधैं अलपत्र छाड्ने?’

महाधिवेशन भएपछि छ महिनाभित्र गर्नुपर्ने काम समेत अलपत्र पारेको उनले वताए । ‘छ महिनाभित्र गर्ने भन्या काम सबै अलपत्र छन्। मैले वास्तवमा सुनौलो भविष्यका लागि समयवद्ध काम गरौं भनेर नारा दिएको, मलाई नै पाखा पारियो। यही हो नि देश। यो मुलुकका लागि कसले उद्धार गरिदिने हो।’

उनले रासायनिक मल र औषधि खरिदलगायतमा नीतिगत भ्रष्टाचार हुने गरेको बताएका थिए।
 

शेरबहादुर देउवा शेखर कोईराला रामचन्द्र पौडेल

विशेष