News राजनीति

कैलालीमा गठवन्धनको निर्णय उलंघन, एमालेसँग मिल्यो माओवादी

कैलालीमा गठवन्धनको निर्णय उलंघन, एमालेसँग मिल्यो माओवादी

सत्ता गठवन्धनको केन्द्रीय सर्कुलर विपरित कैलालीमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग तालमेल गरेर जिल्ला समन्वय समिति गठन गर्ने भएको छ। सहमति अनुसार कैलालीमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा जिल्ला समन्वय समिति गठन हुनेछ।

कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको थियो। यस पटक कैलालीमा एमाले कमजोर भएको छ। स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादी मिलेका थिए । गठवन्धका कारण एमालेले थोरै पालिकामा मात्रै जित हाँसिल गरेको छ।

त्यसैले नेकपा एमाले र माओवादी केन्द्रसँगको सहकार्यमा नागरिक उन्मुक्ति पार्टीले जिसस प्रमुख र थप दुई सदस्य पाउने भएको छ। एमालेले उपप्रमुख र एक सदस्य तथा माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने गरी सहमति भएको छ।

१३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुख–उपप्रमुख आवश्यक हुनेमा नागरिक उन्मुक्ति पार्टीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ। एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ भने माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ। नागरिक उन्मुक्ति, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन्। 

कांग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ भने एकिकृत समाजवादी र स्वतन्त्रले १–१ प्रमुख जितेका छन्।


 

विशेष