News

निर्वाचित हुने वित्तिकै वडाध्यक्षको फर्जी काम, मुस्लिमलाई दलितको सिफारिस

निर्वाचित हुने वित्तिकै वडाध्यक्षको फर्जी काम, मुस्लिमलाई दलितको सिफारिस

रौतहटको गुजरा नगरपालिका–५ का नवनिर्वाचित वडाध्यक्ष शेख जमालुद्धिन फर्जी काममा मुछिएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट वडाध्यक्षको उम्मेदवार वनेका मोहमद आरिफ मियाँ दर्जीलाई दलित भएको फर्जी सिफारिस दिएपछि उनको भण्डा फुटेको हो।

निवर्तमान वडाध्यक्ष समेत रहेका दर्जीलाई यस पटक पनि पार्टीले वडाध्यक्षको उम्मेदवार वनाएको थियो। तर, उनी स्वतन्त्र उम्मेदवार शेख जमालुद्धिनसँग पराजित भए। तर, उनले निर्वाचित वडाध्यक्षसँगै मिलेर वडा सदस्य वन्ने षडयन्त्र गर्दा दुवै जनाको किर्ते कामको भण्डाफोर भएको छ।

आफू दलित समुदायको भएको सिफारिस लिएर कार्यपालिका सदस्यको निर्वाचनमा उम्मेदवारी दिएपछि दर्जीको पोल खुलेको थियो। उनको सिफारिसका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उजुरीबारे निर्वाचन अधिकृतको कार्यालयले आयोगलाई जानकारी गराएको थियो । आयोगले आवश्यक निर्णय गर्न निर्वाचन अधिकृतको कार्यालयलाई नै निर्देशन दिएपछि उनको उम्मेदवारी रद्ध गरिएको हो। दर्जीले फर्जी सिफारिस बनाएर दलित समुदायको भएको पुष्टि भएपछि उम्मेदवारी रद्ध गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दर्जीले नवनिर्वाचित वडाध्यक्ष जमालुद्धिनबाट फर्जी सिफारिस बनाएर इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा गई दलित भएको प्रमाणित गरेका थिए । स्थानीयका अनुसार मियाँले आफ्नो नामको पछाडि दर्जी लेखाउने गरेपनि उनी दर्जी भने होईनन्।

आयोगमा उजुरी परेपछि मुस्लिमलाई दलितको सिफारिस दिने वडाध्यक्ष शेख जमालुद्धिनले आफूबाट गल्ती भएको स्वीकार गरिसकेका थिए । मियाँ दलित नभई मुस्लिम भएको खुलेपछि इलाका प्रशासन कार्यालयले पनि दर्जीको सिफारिस रद्ध गरेको छ।
 

विशेष