News

यात्रु बस पुलबाट नदीमा खस्योः ९ जनाको मृत्यु, ४ जनाको सनाखत

यात्रु बस पुलबाट नदीमा खस्योः ९ जनाको मृत्यु, ४ जनाको सनाखत

रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । ति मध्ये ४ जनाको सनाखत भएको छ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस आईतवार विहान परासी–भैरहवा सडकखण्डअन्तर्गत रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।

घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको थियो। मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष छन् । 

रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास र रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको सनाखत भएको छ।

सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये १६ जनाको अवस्था गम्भिर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटना कसरी भयो भने खुलेको छैन। भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक–पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।
 

विशेष