News

वङलादेशमा रसायन भण्डारमा विष्फोट हुँदा मर्नेको संख्या ३४ पुग्यो

वङलादेशमा रसायन भण्डारमा विष्फोट हुँदा मर्नेको संख्या ३४ पुग्यो

रसायन भण्डारमा आगलागीपछि भएको ठूलो विस्फोटनमा परी बंगलादेशमा मर्नेको संख्या ३४ पुगेको छ। 

चटगाउँ सहरदेखि ४० किलोमिटरको दुरीमा रहेको स्टोरेज डिपोमा आगलागीपछि विस्फोट भएको बताइएको छ। एजेन्सीहरुका अनुसार आगलागी नियन्त्रणको प्रयास जारी छ। सयौँ मानिसहरुको यसको नियन्त्रणमा जुटेको बीबीसीले जनाएको छ। 

सिताकुण्डस्थित क्षेत्रमा राखिएका रसायन भण्डारयुक्त कन्टेनरहरु विस्फोट भएको बताइएको छ। उक्त क्षेत्रका अस्पतालहरु अहिले घाइतेहरुले भरिएका छन् भने अस्पतालले रक्तदानको लागि अपिल गरेको छ। 

धेरै घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। सोही कारण मर्नेको संख्या अझै बढ्ने अनुमान छ। विस्फोटनको ठूलो आवाज आएको र ४ किलोमिटर परसम्म कम्पन महसुस गरिएको बताइएको छ। बंगलादेशी सेनाले रसायन समुद्रमा चुहिनबाट रोक्ने प्रयास गरिरहेको छ।  

आगलागीको कारण खुल्न सकेको छैन। स्थानीय सञ्चारमाध्यमले भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने जनाएका छन् ।

यो डिपोमा करिब ६०० मानिसहरूले काम गर्ने त्यसका निर्देशक मुजिबुर रहमानले संचार माध्यमलाई जनाएका छन् । बाङलादेशमा आगलागीका घटना बारम्बार भइरहने गरेका छन्। 

गत डिसेम्बरमा देशको दक्षिणी क्षेत्रमा एउटा डुङ्गामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको थियो। गत वर्ष राजधानी ढाका नजिकैको रूपगञ्जमा एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो। 
 

विशेष