News

ओलीलाई रावलको चेतावनी– उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ

ओलीलाई रावलको चेतावनी– उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ

स्थानीय तह निर्वाचनमा ६० प्रतिशत स्थानीय तह एमाले एक्लैले जित्ने दावी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मत परिणामपति भने असन्तुष्ट छन्। स्थानीय तह निर्वाचनमा जितको हिसावले एमाले दोस्रो स्थानमा खुम्चिएको छ।

यो हारपछि ओलीले आफ्नै नेतामाथि प्रतिसोध साँध्न थालेका छन् । उनले पटक–पटक उच्चारण गरेको अन्तर्घात शब्द र उपमहासचिव घनश्याम भुसाललाई कारवाहीको सिफारिसले उनी १० वुँदे समर्थक (माधव नेपाल पक्षका) नेताहरु प्रति जाई लाग्न थालेको देखिएको छ।

हारको नैतिक जिम्मेवारी लिएर अध्यक्ष ओलीले राजिनामा दिनुपर्छ भन्दै भुसालले अन्तर्वार्ता दिएपछि उनी तारोमा छन्। अध्यक्ष ओलीले भुसाललाई कारवाही गर्न अनुशासन आयोगलाई दवाव दिएका थिए । तर, विधान अनुसार आयोगले कारवाही गर्न नमिलेपछि उसले सचिवालयलाई कारवाहीको सिफारिस गरेको छ।

भुसाललाई कारवाहीको तयारी गरिएपछि एमाले नेता भीम रावलले त्यसको प्रतिवाद गरेका छन् । उनले घुमाउँरो पारामा भुसाललाई कारवाही गरेर उल्टो बाटो नहिड्न पनि नेताहरुलाई सुझाव दिएका छन् ।

यसपटकको निर्वाचनमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तह मात्र जित्न सफल भएपछि रावलले स्थानीय तहको निर्वाचनबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । ०७४ को निर्वाचनमा एमालेले सर्वाधिक २९४ पालिका जितेको थियो ।

यही प्रसंगामा आज बिहान ट्विट गर्दै उनले ‘उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ’ भन्दै सच्चिन नेतृत्वलाई आग्रह गरेका छन् । ‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ, यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ,’ रावलले भनेका छन्–‘‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नुपर्छ।’

आगामी प्रदेशसभा र संघीय चुनाव एमालेले जित्नुपर्ने र त्यसका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।  


 

केपी शर्मा ओली घनश्याम भुसाल भीम रावल

विशेष