News

वर्दियामा प्रहरीको गोली लागेर किशोरीको मृत्यु, प्रतिकारमा १८ प्रहरी घाईते

वर्दियामा प्रहरीको गोली लागेर किशोरीको मृत्यु, प्रतिकारमा १८ प्रहरी घाईते

बाघसहितका जंगली जनावर नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा बर्दियाको मधुवन नगरपालिका २ स्थित आरोली बजारमा एक युवतीको मृत्यु भएको छ।

स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयमाथि बल प्रयाग गर्दा गोली चलेको थियो। घटनामा मधुवन नगरपालिका २ की कक्षा १२ मा पढ्ने करिब २० वर्षीया नविना थारुको मृत्यु भएको छ। 

आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि आत्म रक्षाको लागि प्रहरीले गोली चलाउँदा थारुको मृत्यु भएको जनाईएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए। बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्यालयको टोली परिचालन भइसकेको र वार्ताको तयारी हुँदै गर्दा प्रहरीले गोली चलाएर घटना विथोलेको हो।

स्थानीयको प्रतिकारमा ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका छन्। प्रहरी हवल्दार पार्वता खड्काको अवस्था गम्भीर छ। उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ। प्रदर्शनमा उत्रिएका स्थानीय दुई जना घाइते भएका छन्। उनीहरुलाई पनि गोली लागेको स्थानीयले बताएका छन्।

प्रहरीमाथि आक्रमण भएपछि ११ राउण्ड अश्रुग्यास र हवाइ फायर गरेको वताएको प्रहरीले प्रहरीमाथिको आक्रमण नरोकिएपछि गोली चलाएको जनाएको छ।

सोमबार बिहान मधुवन नगरपालिका–२ छोट्की सोनाहाका ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो। उनको हाल नेपालगञ्जमा उपचार भइरहेको छ। त्यो घट्नापछि स्थानीयले साढे ११ बजेदेखि सुरक्षाको माग गर्दै हुलाकी राजमार्गमा अवरोध गरेका थिए ।

थारुको मृत्युपछि स्थानीयले दिउँसो १२ बजेदेखि राति ९ बजेसम्म सडक अवरुद्ध गरे। मधुवन २ का वडाध्यक्ष आशाराम चौधरीका अनुसार १४ दिनमा दुई जनामाथि बाघले आक्रमण गरिसकेको छ। केही दिनअघि पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो। सोमबार पुनः बाघले आक्रमण गरेपछि स्थानीयले सुरक्षाको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।
 

विशेष