News

बन्चरेडाँडावासीलाई सन्सारकै गाली, कस्ले गर्यो कमजोरी ?

बन्चरेडाँडावासीलाई सन्सारकै गाली, कस्ले गर्यो कमजोरी ?

देशको संघीय राजधानी काठमाण्डौं यतिवेला फोहोरले पुरिएको छ। जताततै थुप्रिएको फोहोरको डंगुर र दुर्गन्धले बाटो हिड्न सक्ने अवस्था छैन। जेठ १४ गतेदेखि थुप्रिएको फोहोरको दिर्घकालिन ब्यवस्थापनको उपाय अझै पनि निस्किएको छैन।

यसैविच, सोमवार राती सहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाँडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई राखेर फोहोर फाल्न सहमति गर्यो। तर, त्यसको भोलीपल्ट विहानै स्थानीयवासीले त्यो सहमति नमान्ने भन्दै फोहोर बोकेका गाडीलाई अवरोध गरे।

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रतिवद्धता विपरित बन्चरे डाँडामा प्रहरी परिचालन गरियो। एक दर्जनभन्दा बढि ब्यक्तिलाई पक्राउ गरियो। स्थानीयका अनुसार घरघरमा पसेर महिला, बालबालिका, वृद्धवृद्धा सवैलाई लछार–पछार पारियो। जव सर्वसाधारण आतंकित भए, सडकमा निस्कन नसक्ने अवस्था आयो त्यसपछि लगेर करिव डेढ सय गाडी फोहोर वन्चरे डाँडामा विसर्जन गरिएको छ।

वुधवार पनि प्रहरीको सहयोगमा फोहोर लान खोजेपछि स्थानीयले अवरोध गरे। २ सय भन्दा वढि प्रहरी परिचालन गरियो। सरकार अझै कठोर हुन थालेपछि स्थानीयसँग झडप समेत भएको छ। प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थानीयलाई तितर वितर वनाएको छ। 

स्थानीयवासीले फोहोर विसर्जनमा अवरोध गरेको कुरा मंगलवारदेखि नै सामाजिक सञ्जालमा छ्यासछ्यास्ती छ। देश विदेशबाट बन्चरेडाँडावासीलाई गाली गर्नेको ओईरो लागेको छ। ‘राती सहमति गर्ने अनि विहान अवरोध गर्ने ?’ भन्दै उनीहरुलाई ‘फोहोरसँगै गाड्नु पर्छ’ भन्नेसम्मका अभिब्यक्तिहरु आईरहेका छन् । खासगरी बन्चरे डाँडावासीलाई गाली गर्ने दुई खाले मानिस देखिएका छन् । एक– काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थनक। दुई– काठमाण्डौंको समस्या देखेका तर वन्चरे डाँडा र सिसडोलको समस्या नवुझेका।

बालेन्द्र साहका समर्थकहरुले यतिवेला बन्चरेडाँडाबासीलाई दलका झोले कार्यकर्ताका रुपमा चित्रण गरिरहेका छन् । स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर साहलाई असफल वनाउन स्थानीयका नाममा दलका नेता/कार्यकर्ताहरु परिचालित भएको उनीहरुको वुझाई छ। बन्चरे डाँडामा आन्दोलन गर्ने र फोहोर विसर्जनको विरोध गर्नेमा कुनै पार्टीका कार्यकर्ता नहोलान भन्न सकिने आधार त छैन। तर, उनीहरु दलका कार्यकर्ता भन्दा पहिला प्रभावित क्षेत्रका वासिन्दा हुन। विगत १७ वर्षदेखि उनीहरु आफनो अधिकार र प्रभावित क्षेत्रमा वसोवास गरेका नाताले स्वास्थ्य सुरक्षाको माग गर्दै आन्दोलनरत छन। उनीहरुलाई को मेयर भयो भन्नेमा भन्दा पनि आफनो मागका विषयमा वढि सरोकार छ। बालेन्द्र मेयर बन्नु भन्दा अघि पनि उनीहरु आन्दोलनमा थिए र फोहोर बोकेका गाडी अवरोध गर्दै आएका थिए ।

अर्कोतर्फ काठमाण्डौंको फोहोर देखेका र भोगेका तर बन्चरेडाँडा र सिसडोलका स्थानीयवासीका पिरमर्का नवुझेकाहरु पनि अहिले बन्चरेडाँडावासीलाई गाली गरिरहेका छन् । उनीहरुलाई जतिसक्दो चाँडो काठमाण्डौं सफा भएको हेर्न र भोग्न मन छ। तर, काठमाडौंबाट निस्कने फोहोर जुन ठाउँमा लगेर विसर्जन गरिँदैछ, त्यो ठाउँमा पनि गाउँ छ, वस्ती छ र त्यहाँ पनि मान्छे नै वस्छन् भन्ने कुरा उनीहरुले सोचेको देखिदैन।

आफनो घरको फोहोर उनीहरुको आँगन अगाडि फाल्दिन पाए आफनो समस्या सकिन्थ्यो भन्ने हिसावले उनीहरु अहिले वन्चरेडाँडावासीलाई गाली गरिरहेका छन् । यो कुरा उनीहरुको सामाजिक सञ्जालका स्ट्याटस र कमेन्टबाटै प्रष्ट हुन्छ। ‘सहमतिपछि पनि अवरोध सृजना गर्नेहरु समाजका फोहोर हुन्, यिनलाई डम्पिङ साइटमा पुर्नुपछ’ भन्दै कमेन्ट लेख्नेहरुले त्यो समस्या आफुलाई पर्यो भने के होला ? भनेर सोचेको देखिदैन। यी कमेन्ट पक्कै पनि एउटा मानिसले अर्को मानिसका लागि प्रयोग गर्ने शब्द पनि होईनन्। त्यसमाथि उनीहरुकै ठाउँमा फोहोर फाल्न नपाएको रिसमा यस्तो गाली गर्नुले उनीहरुको नियत प्रष्ट पार्छ।

कस्ले गरयो सहमति, किन भयो अवरोध ?
शहरी विकास मन्त्रालयले सोमवार राती ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई बोलाएर फोहोर फाल्ने सहमति गर्यो। तर, वर्षौदेखि यो मुद्दा उठाइरहेका अभियन्ता र प्रभावित क्षेत्रका ब्यक्तिहरु जो संघर्ष समितिमा छन्। उनीहरुलाई वोलाएर छलफल गरिएन। 

सहमतिका वारेमा पनि उनीहरुले सञ्चार माद्यमबाट जानकारी पाए । त्यसैले उनीहरु आफनो स्वीकृतिबिना गरिएको सम्झौता कार्यान्वयन नगर्ने पक्षमा उभिए। बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानले उक्त सहमतिमा आफुहरुको माग सम्वोधन नभएको गुनासो गरे।

‘सरकारले पहिल्यै घोषणा गरेको र बजेटमा समेत परिसकेका कार्यक्रम मात्र समावेश गरेर हामीलाई झुक्याउन खोजेको छ, हामी यो सम्झौता मान्दैनौं’ उनले भने–‘हाम्रा माग पूरा गर्ने हो भने फोहोर फाल्न दिन तयार छौं। तर सरकारले हाम्रो कुरा सुनेन, जबर्जस्ती ग-यो।’

सरकारले झुठो सम्झौता गर्दै जाने र भुलभुलैयामा पार्ने गर्दै आएको भन्दै उनले थपे –‘सिसडोलमा फोहोर फाल्न थालेको १७ वर्ष भयो। त्यहाँको हालत हामी सबैले देखेका छौं। त्यहाँका बासिन्दाको स्वास्थ्य र त्यहाँको खेतीपातीमा परेको असर रोक्न सरकारले के के बाचा ग-यो? ती बाचा के भए? के बञ्चरेलाई पनि सिसडोल बनाउन आँटेको हो?’

मेयर र अध्यक्षले आफुहरुलाई जानकारी नै नदिई सुटुक्क सम्झौता गरेको भन्दै उनीहरु आक्रोसित छन् । ढुङ्गानाका अनुसार मेयर आचार्य वडा नम्बर ५ का वासिन्दा हुन। उनलाई डम्पिङ साइटबाट आउने दुर्गन्ध र फोहोरमैलाको खासै प्रभाव पर्दैन। त्यहाँको समस्याका बारेमा पनि उनलाई खासै जानकारी छैन। तर, मन्त्रालयले उनीहरुलाई नै लगेर वन्द कोठाभित्र सहिछाप गराएको स्थानीयको आरोप छ।

के छ स्थानीयको माग
सरकारले पटक–पटक सम्झौता गर्ने गरेपनि लिखित गर्दा छलकपट गर्दै आएको स्थानीयको आरोप छ। मुखले एउटा कुरा वोल्ने लेख्ने वेलामा अर्कै कुरा लेख्ने गरेकाले सरकारले मौखिक रुपमा गरेका वाचामा भरोसा गर्न नसकिने उनीहरु वताउँछन।

अहिलेसम्म भएका सवै सम्झौता र सहमति अपुर्ण रहेको र आफुहरुले उठाएका मागलाई नै सम्वोधन नगरिएको उनीहरुले गुनासो गरे। प्रभावित क्षेत्र यकिन गरी जग्गा अधिग्रहण गर्ने भनेर सम्झौतामा उल्लेख गरिएपनि प्रभावित जग्गा कसरी निर्धारण गर्ने, कहिले गर्ने, विज्ञ टोलीमा को को रहनेलगायतका विषय लेख्ने वेलामा छोडिएको उनीहरु वताउँछन् ।

छलफलका क्रममा ६ महिनाको कुरा उठाईएपनि लेख्ने वेलामा त्यो विषय नसमेटिएको स्थानीयको भनाई छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण प्रक्रिया सुरू गर्ने भनिएको छ तर त्यो प्रतिवेदन कहिलेसम्म प्राप्त हुन्छ, कहाँबाट प्राप्त हुन्छ भन्ने सम्झौतामा कतै उल्लेख नै नगरिएको पनि उनीहरुको गुनासो छ।

यसैगरी अधिग्रहण गर्ने भनिएको क्षेत्रमा रहेको गुठीका जग्गाका विषयमा पनि सम्झौताले नवोलेको उनीहरुले वताए । ‘धेरै स्थानीयले गुठीको जग्गा उपभोग गरिरहेका छन, जसको लालपुर्जा छैन। उनीहरूको जीविकाको मुख्य स्रोत त्यही गुठीको जग्गामा गरिने खेती हो’ ढुङ्गानाले भने–‘त्यो जग्गा सरक्क सरकारले लियो भने उनीहरूको उठिबास हुन्छ। त्यसका वारेमा सम्झौताले वोल्नु पर्दैन ?’

समस्याको दिर्घकालिन समाधान गर्ने हो भने सरकारले स्थानीयवासीलाई विश्वासमा लिनु पर्ने र प्रभावित क्षेत्रमा जननासँग वसेर छलफल गरी सहमति/सम्झौता गर्नु पर्ने उनीहरुको भनाई छ।

यो पनि,

बन्चरेडाँडा

विशेष