News

एमसीसी अनुमोदनपछि किन बाक्लियो अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण ?

एमसीसी अनुमोदनपछि किन बाक्लियो अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण ?

सरकारले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गराएपछि नेपालमा अमेरिकी अधिकारीहरुको भ्रमण वाक्लिएको छ। यसैक्रममा विहिवार अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् ।

उनी इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट दिउँसो नेपाल आएका हुन् । सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्र प्रमुख रहेका उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका माइकल टी फ्लिनका भाइ हुन् । 

यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया जेठमा नेपाल आएकी थिइन् । त्यसको केही समय अघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु लगायतका अधिकारीहरु नेपाल आएका थिए ।

यसैगरी, नेपाली सेनाका प्रमुख तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि अमेरिका भ्रमणको तयारी भईरहेको छ। प्रधानसेनापति प्रभुराम शर्मा असारमा अमेरिका जाँदै छन् । प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने भनिए पनि मिति टुंगो लागेको छैन। 

तारन्तारको यो भ्रमणमा सत्तारुढ दलकै सांसदहरुले आशंका ब्यक्त गरिरहेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरेलले प्रधान सेनापाति र प्रधानमन्त्रीको अमेरिका भ्रमणहरुको उद्देश्य र एजेण्डाबारे जानकारी मागेका छन्।

नेपाल र अमेरिकाबीच हुन लागेको स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौताले नेपाल अमेरिकासँग सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको सांसदहरुको आशंका छ। पोखरेलले यो विषयमा पनि सरकारसँग जवाफ मागेका छन् ।

‘नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ?’ भन्दै उनले सरकारलाई प्रश्न गरे।

विशेष