News

एमाले सांसद लामाको प्रश्तावः जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं

एमाले सांसद लामाको प्रश्तावः जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं

एमाले सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गरेर पाठ्यपुस्तक छपाइको काम निजी क्षेत्रलाई दिन प्रस्ताव गरेकी छिन् । पाठ्यपुस्तक छपाइ गर्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षा सामग्री केन्द्र नै खारेज गर्नुपर्ने उनको माग छ।

‘पुस्तक छाप्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षा किन चाहियो? किन सरकारले पैसा दिइरहने? खारेज गरौं,’ उनले भनिन्, ‘वैकल्पिक उपाय सोचेर पाठ्यपुस्तक छाप्ने जिम्मेवारी निजीलाई दिऔं।’

मुख्यगरी अहिले कक्षा ६ र ८ को पुस्तक अभाव भएको उनले बताइन्। आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले भनिन्– ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै पाएनन्।’

बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन् ? भन्दै उनले अगाडि भनिन् ‘हामीले वैकल्पिक उपाय खोजेर निजीलाई दिने कुरा गर्नुपर्छ अनि तुरुन्त किताब पाउने कुराको सुनिश्चित गर्नुपर्छ ।’

जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीले विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएको उनको भनाई छ। जनक शिक्षाका पदाधिकारी जवाफदेही नभएका कारण यो समस्या आएको पनि उनले वताईन। 
 

विशेष