News

कांग्रेसकै एउटा समुहले लगायो देउवा सरकार भ्रष्टाचारमा डुवेको आरोप

कांग्रेसकै एउटा समुहले लगायो देउवा सरकार भ्रष्टाचारमा डुवेको आरोप

शेरबहादुर देउवा नेतृत्वको सरकार भ्रष्टाचारमा डुवेको कांग्रेसकै नेता शेखर कोईराला पक्षले आक्षेप लगाएको छ। सोमबारबाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकको तयारीका लागि आईतवार वसेको कोईराला पक्षको वैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकालेको हो।

सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष समेत उक्त पक्षको वैठको निस्कर्ष छ। भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रीय समिति बैठक गर्नु पर्ने नेता चन्द्र भण्डारीले बताए। 

सरकारले ल्याएको बजेटमा पनि यो समुहले असन्तुष्टि व्यक्त गर्दै आएको छ। सभापपति देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्ष आक्रोशित छ। 

स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई वृहत् बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए। 

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ। पार्टीको भातृ संस्था र विभागहरूलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले बताए।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायत सहभागी थिए। 

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। 
 

शेरबहादुर देउवा

विशेष