News

के प्रचण्ड र केपी ओलीलाई मिलाउन आएका हुन सीपीसीका विदेश विभाग प्रमुख

के प्रचण्ड र केपी ओलीलाई मिलाउन आएका हुन सीपीसीका विदेश विभाग प्रमुख

नेपाल भ्रमणका लागि आइतवार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ भेटघाटमा ब्यस्त छन् । लिउ ६ सदस्यीय चिनियाँ टोली लिएर एअर चाइनाको विमानबाट काठमाण्डौं आईपुगेका हुन।

नेपाल भ्रमणमा आएको चिनियाँ नेता लिउको टोली चार दिनसम्म रहनेछ। यसविचमा लिउले प्रधानमन्त्री, राष्ट्रपति तथा विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। एमसीसी र एसपीपी प्रकणलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको चीनले सीपीसी विदेश विभाग प्रमुखलाई दूतका रुपमा नेपाल पठाएको हो। 

लिउले सीपीसीको विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएको २३ दिनपछि नेपालका दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षहरुसँग भिडियो संवाद गरेका थिए। त्यस लगत्तै भएको लिउको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि पनि तत्कालीन नेकपा एकता जोगाउनका लागि चिनियाँ राष्ट्रपति सी जिनफिङ नै सक्रिय भएका थिए। पछिल्लो समय कम्युनिस्ट नेताहरु आफैं अडानमा वस्न नसकेका कारण चीनको प्रयास सफल हुन सकेको छैन। तर पनि अमेरिकी, पश्चिमा र भारतीय प्रभावलाई निस्तेज पार्न चीनसँग नेपालमा कम्युनिस्ट एकताको विकल्प छैन।

त्यसकारण कम्युनिस्टहरुलाई मिलाएर अघि बढ्ने पहलकै रुपमा चिनियाँ विदेश विभाग प्रमुखको भ्रमण भएको जानकारहर वताउँछन् । मूल उद्देश्य कम्युनिस्ट पार्टी एकताको पहल भए पनि ध्यान अन्ततिर मोड्नका लागि अन्य नेताहरुलाई पनि भेट्ने कार्यक्रम राखेको पनि उनीहरु वताउँछन् ।

यसअघि २०७४ को निर्वाचनअघि पनि नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीहरुबीच एकता गराउन चीनले भूमिका खेलेको आरोप लागेको थियो। पछि नेकपा विभाजनका समयमा उक्त विभाजन रोक्नका लागि चीनले चालेका कूटनीतिक र गैरकूटनीतिक कदमहरुले पनि त्यसलाई पुष्टि गरेको थियो। 

चिनियाँ विदेश विभाग प्रमुख लिउले दुई कम्युनिस्ट नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच वार्ता गराउने प्रयासमा लागेको बताइएको छ। यसअघि सीपीसी विदेश विभाग प्रमुख रहेका सङ ताओले पनि दुई पटक नेपाल भ्रमण गरेका थिए। उनले पनि नेपालका कम्युनिस्टहरुलाई एकताबद्ध राख्ने प्रयास गरे पनि सफल हुन भने सकेनन्।

विशेष