News विदेश

श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी घरमा आगो लगाए

श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी घरमा आगो लगाए

श्रीलंकामा सरकार विरोध प्रदर्शन भड्किदै गएको छ। प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगजनी गरेका छन्।

प्रदर्शनकारीहरू शनिबार साँझ सुरक्षाकर्मीको घेरा तोड्दै प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावपूर्ण स्थिति श्रृजना भएको थियो। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो। यसै क्रममा प्रधानमन्त्रीको सुरक्षामा तैनाथ अधिकारीले घरबाहिर उपस्थित पत्रकारमाथि हमला गरेपछि भीड झनै आक्रोशित भयो। त्यसपछि भीडले प्रधानमन्त्रीको निजी निवासमा आगजनी ग¥यो।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरूले शनिबार राष्ट्रपति निवास घेरेका थिए। दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे निवास छोडेर भागेका थिए । उनले पदबाट राजीनामा दिने भएका छन्।

प्रदर्शनकारीले आफ्नो सरकारी निवासमा आक्रमण गरी प्रधानमन्त्रीको घरमासमेत आगजनी गरेपछि आफूले राजीनामा दिने घोषणा गरेका हुन्। संसदका सभामुख महिन्दा यापा अबेवर्देनाका अनुसार राजापाक्षेले आगामी जुलाई १३ मा राजीनामा दिने भएका छन्।

प्रधानमन्त्री विक्रमासिंघे पनि राजीनामा दिन सहमत भएका छन्। प्रधानमन्त्रीले सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन तयार रहेको उनको कार्यालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राजधानी कोलम्बोमा महिनौंदेखि चलेको आर्थिक संकटको विरोधमा राजापाक्षेलाई राजीनामा दिन आह्वान गर्दै हजारौं मानिस राजधानी कोलम्बोमा आएका थिए। श्रीलंकाले अत्यधिक मुद्रास्फीतिको सामना गरिरहेको छ र खाद्यान्न, इन्धन र औषधि आयात गर्न संघर्ष गरिरहेको छ।

आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन्।

यो पनि,

श्रीलंका सरकार विरोधी प्रदर्शन प्रधानमन्त्री रनिल विक्रमासिङ्घे निजी निवासमा आगजनी

विशेष