News

बाजुराको बुढीगंगामा मेयर र उपमेयर दुवैमा एमालेको जित

बाजुराको बुढीगंगामा मेयर र उपमेयर दुवैमा एमालेको जित

बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले जितेको छ। मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।

बानियाँले ४ हजार ७ सय ७७ मत ल्याए भने पराजित कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए । उपमेयरमा कुवँरले ४ हजार ७ सय २७ मत पाउँदा कांग्रेसका उम्मेदवार रिता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याइन् ।

बाँनिया र कुँवर ०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । तर त्यसबेला कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए । १० वटा वडा रहेको बुढीगंगामा ७ वटा वडामा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेसले ३ वडा जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमाले तथा ४, ७ र ८ मा कांग्रेसका उम्मेदवारले जितेका छन् ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ । 
 

बुढीगंगा नगरपालिका

विशेष