News

आफनै स्कुलको बसले किचेर दुई बालबालिकाको मृत्यु

आफनै स्कुलको बसले किचेर दुई बालबालिकाको मृत्यु

आफनै विद्यालयको बसको ठक्करबाट मोरङमा दुई बालबालिकाको मृत्यु भएको छ। रंगेली ७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्वरको बसले ठक्कर दिएर रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो।

स्कुल छुट्टी भएर घर फर्कन वाहिर निस्किएर वसेका बालबालिकालाई अनियन्त्रित भएको बसले मंगलवार ठक्कर दिएको थियो। हृतिकको घटनास्थलमै मृत्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिनभर प्रदर्शन गरेका थिए। उनीहरुले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरे।

प्रदर्शनका क्रममा स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरिएको थियो। बुधबारै पीडित पक्ष र नगर प्रमुखसहितका जनप्रतिनिधिहरुको बैठकमा विद्यालयले पीडित परिवारका दुई बालबालिकालाई रंगेली नगरपालिका भित्रका जुनसुकै निजी विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क पढाइदिने भएको छ। परिवारलाई क्षतिपूर्ति स्वरूप ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति पनि भएको थियो।

प्रहरीले बस चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ। 
 

विशेष