News

ओलीको प्रश्नः सरकार सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ?

ओलीको प्रश्नः सरकार सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको प्रधानमन्त्री शेरबहादुर देउवा भएपनि सरकार उनले नचलाएको दावी गरेका छन् । सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए ।

‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यता पट्टि जान चाहन्न मेरो विषय बनाउन चाहन्न’ उनले भने, ‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनु हुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावरवाला हुँ भन्नेले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही हो ।’

उनले बजेटमा सेटिङ, हतियार खरिद लगायतका प्रक्रिया जस्ता पछिल्ला घटनाक्रमको उदाहरण दिंदै यस्तै अवस्था रहे मुलुक श्रीलंकाको स्थितिमा पुग्ने चेतावनी दिए। सरकारका कामकारबाही मुलुकलाई श्रीलंकाको अवस्थामा पुग्ने बाटोतर्फ केन्द्रित रहेको उल्लेख गरे ।


‘व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइन्छ । अहिले हतियार खरिदका कुरा आएका छन् । अनधिकृत मान्छे ल्याएर अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी अवाञ्छित तत्व घुसाउने काम भयो’ उनले भने,‘हतियार खरिद प्रकरणमा चलाइएका र गरिएका कुराको पृष्ठभागबाट कसैको समर्थन छ । यो विषय सहज छैन । यसको प्रभाव कम्तीमा हामी श्रीलंकाको अवस्थामा पुगिन्छ वा अझ त्यो भन्दा पनि बढीमा पुगिन्छ । अहिले नै हामी सतर्क हुनुपर्छ ।’

बजेट निर्माणमा अनाडी मान्छेहरू संलग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङ अन्तर्गत लाभको हिसाबकिताब जोड घटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ ।  कर दर, अन्तःशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी, अवाञ्छित तत्वहरूको हात घुसाउने काम गरेको उनले बताए ।
 

विशेष