News

चीनियाँ नाकावन्दीका कारण किसानले पाएनन् मल

चीनियाँ नाकावन्दीका कारण किसानले पाएनन् मल

चार वर्षमा सवा ६ करोड अकुत सम्पत्ति आर्जन गर्ने पूर्वनासु भीमकान्त भण्डारी र सुन तस्करीको आरोप लागेका रमेश शेर्पालाई मल आयातको जिम्मा दिँदा रोपाईका वेला किसानहरु विचल्लीमा परेका छन्। सरकारले जिम्मा दिएको रासायनिक मल आपुर्ती नहुँदा किसानको रुवाबासी छ।

सरकारले पूर्वकर्मचारी भीमकान्त भण्डारीको विध म्यानेजमेन्ट, रमेश शेर्पाको सिल्क ट्रान्सपोर्ट, ल्हासा निवासी सोनाम लामाका भाई उर्गेन लामा र रसुवाका ब्यापारी सोनामलगायतको ज्वाईन्ट भेन्चरलाई रासायनिक मल आयातको जिम्मा दिएको थियो। उनीहरुले साल्ट ट्रेडिङ कर्पोरेसनको ५० हजार टन रासायनिक मल चीनबाट ल्याउने ठेक्का पाएका थिए ।

तर, उनीहरुले ल्याउने भनिएको ५० हजार टन मध्ये करिव १ हजार ५ सय टन मात्रै रासायनिक मल नेपाल भित्रीएको भन्सार कार्यालयको रेकर्डमा छ। कोरोनाको वहानामा चीनले अघोषित रुपमा नाकावन्दी सुरु गरेपछि भीमकान्त, रमेशलगायतले मल ल्याउन पहल नै नगरेको जानकारहरु वताउँछन् ।

उसो त भन्सारमा रमेश शेर्पाको सिल्क ट्रान्सपोर्टको एकछत्र राज छ। अन्य नेपाली ब्यवसायीका ट्रक तथा कन्टेनर काम नपाएर थन्किएका वेला पनि सिल्क ट्रान्सपोर्टका ट्रक÷कन्टेनर निर्वाध चीन प्रवेश गर्न पाउँछन्। सिल्कले भन्सार कर्मचारीहरुलाई प्रभावमा पारेर चीनको मुसा लजिस्टिकसँग सामान आयातको सम्झौता गरेको छ। रसुवागढि र तातोपानी भन्सारबाट नेपाल भित्रिने थोरै सामान पनि सिल्क ट्रान्सपोर्ट र मुसाले मात्रै ओसार–पसार गरिरहेका छन् । तर, पनि उनीहरुले मल ल्याउने विषयमा पहल नगरेको वताईन्छ। 

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बहाना वनाएर चीनले रसुवा र तातोपानी नाका गरेको अवरोधका कारण पनि रासायनिक मल भित्रन नसकेको वताईन्छ। सामान्य अवस्थामा २५÷३० वटा कन्टेर आउने रसुवागढि नाकामा कोरोना सुरु भएपछि मुस्किलले ५ वटा कन्टेनर आउने गरेका छन्। तातोपानी नाकाको अवस्था पनि उस्तै छ।

चाईना–नेपाल ब्यापार प्रभावित भएपछि ब्यापारीहरुले अरवौको घाटा ब्यहोरे। न्यूरोडका ५÷६ प्रतिशत ब्यापारी पलायन भए। देशभरी करिव २० हजार ब्यापारी नाकावन्दीका कारण प्रभावित भए।

चाईनाको सरकारी तहवाटै नेपाल प्रवेश गर्ने कन्टेनरमा कोटा सिस्टम सुरु भएपछि छिटो सामान पठाई दिने वहानामा दलालहरु सकृय भए। एउटै कन्टेनरमा करिव १० लाख रुपैयाँ खर्च वढेपछि ब्यापारीको विचल्ली भयो।

सो नाकावन्दीको असर अहिले खेतीपातीमा देखिएको छ। तोकिएको परिमाणमा रासायनीक मल आयात नहुँदा देशभर रोपाई प्रभावित भएको छ।

को हुन भण्डारी र शेर्पा
विध म्यानेजमन्टका सञ्चालक भीमकान्त भण्डारी पुर्व कर्मचारी हुन। उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ३ गते सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

०७३ असोज २१ मा सरकारी सेवा प्रवेश गरेका गुल्मीको मालिका गाउँपालिका–५ का भण्डारीले करिब चार वर्ष जागिर खाँदा सवा ६ करोड भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। ०७३ मास्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ग्रामीण विकास प्रशिक्षण केन्द्र कलबलगुडी, झापाबाट जागिर सुरु गरेका उनले०७७ असार ३० मा स्वैच्छिक अवकाश लिएका थिए ।

यसैगरी, रमेश शेर्पा सञ्चालक रहेको सिल्क ट्रान्सपोर्ट पनि आफै विवादित छ। सिल्कले भन्सारलाई प्रभावमा पारेको र सुन तस्करी गरेको आरोप लाग्छ। त्यो विषयमा रमेशले स्पष्ट जवाफ दिदैनन्। तर, घुमाउरो पारामा उनले दुवै कुरा स्विकार गरेका छन् । भन्सारलाई प्रभावमा पारेको भन्दै तपाई माथि लाग्ने आरोप सहि हो ? भन्ने प्रश्नमा शेर्पा ‘सक्ने भए अरुले पनि प्रभावमा पारे भईगयो नी’ भन्छन् भने  सुन तस्करीको विषयमा पनि उनले ‘आरोप लगाउनेहरु लगाउँदै गर्छन। तर, आरोप लाएर मात्र भएन, प्रमाण चाहियो नी’ भन्दै जवाफ दिने गरेका छन् ।

रमेशले आफनो ब्यवसायमा सभामुख अग्निप्रसाद सापकोटाको पनि नाम जोड्ने गरेका छन् । आफनो ब्यवसायमा सभामुखका छोराको पनि पार्टनरसिप रहेको उनी वताउँछन् ।

यो पनि,

 

भीमकान्त भण्डारी रमेश शेर्पा नाकावन्दी मल अभाव

विशेष