News

मजदुर महिलालाई बलात्कार गरेको आरोप लागेपछि क्याम्पस चिफको राजिनामा

मजदुर महिलालाई बलात्कार गरेको आरोप लागेपछि क्याम्पस चिफको राजिनामा

बलात्कार आरोपी बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले पदबाट राजिनामा दिएका छन् । नेगीले सोमबार संचालक समिति समक्ष राजीनामा पत्र वुझाएका हुन। 

नेगीले आफूप्रतिको आग्रह र पूर्वाग्रहका कारण केही अमुख व्यक्ति, राजनीतिक दलका भातृसंगठनहरुले अपुष्ट कुरा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकोले सत्यतथ्य छानबिन नहुन्जेलसम्मका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

उनीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ। पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै नेगी विरुद्ध कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छिन्। 

कैलाली घर भएकी चौधरी समुदायकी बलात्कृत महिला मजदुर हुन। उनी श्रीमानसहित पुर्चौडी नगरपालिका–१ स्थित इलाका प्रहरी चौकी पुरघाटको भवन निर्माणमा दैनिक ज्यालादारी काम गर्दै आएकी थिइन् । 

पीडित महिला र उनका श्रीमान् पुर्चौडीमै डेरा गरी बस्दै आएका थिए । क्याम्पस प्रमुख नेगी पनि उनीहरुको डेरा नजिकै कोठा भाडामा लिएर वसेका छन् । असार २० गते राती क्याम्पस प्रमुख नेगीले पानी माग्ने वहाना बनाएर आफुलाई बलात्कार गरेको पीडितको आरोप छ।

पानी दिन खोज्दा मुख थुनेर आफनै कोठामा नेगीले बलात्कार गरेको ती महिलाको आरोप छ । डडेल्धुरा गएका उनका श्रीमान राति करिव २ वजे डेरामा पुग्दा त्यो घट्ना देखेका थिए । महिले आफुमाथि बलात्कार आरोप लगाएपनि यो घट्ना उजुरीका रुपमा प्रहरीमा पुगेको छैन।

नेगीले ‘यो कुरा कसैलाई भने तेरो परिवारै मारिदिन्छु’ भन्दै धम्की दिएको र प्रहरीले पनि उसैतर्फ लागेर ‘अफ्ठ्यारोमा पर्छौ’ भन्न थालेपछि आफु उजुरी गर्न नगएको पीडित महिलाको गुनासो छ। उनी भन्छिन्–‘प्रहरी नै पीडकसँग मिलेपछि कस्को भरोसामा उजुरी गर्न जानु ?’

पीडितका श्रीमानले पनि ‘५० हजार लिएर चुप लागेर वस, नत्र गाह्रो हुन्छ’ भन्दै धम्की दिएको गुनासो गरे। धम्की पछि पनि उनले श्रीमतीलाई प्रहरीमा उजुरी गर्न भनेका थिए। तर, डरले आफु उजुरी गर्न नगएपछि श्रीमानले समेत आफुलाई छोडेको महिलाले गुनासो गरिन।

अहिले ती मजदुर महिलालाई श्रीमानले समेत छोडेका छन् । उनी कैलाली स्थित माइतीघरमा बसिरहेकी छिन् । २२ असारमा बैतडीबाट फर्किएर माइतीघरमै बस्दै आएको उनको भनाइ छ । उनका श्रीमानले भने क्याम्पस प्रमुख नेगीलाई कानुनी कारबाही भए आफू श्रीमतीलाई सम्हाल्न तयार रहेको वताए । 

जिल्ला प्रहरी कार्यालय वैतडीका डिएसपीले भने त्यो विषयमा आफुलाई जानकारी नभएको भन्दै थप कुरा गर्दै नगरी फोन काटे।
 

बलात्कार पुर्चौडी बहुमुखी क्याम्पस राजेन्द्र नेगी

विशेष