News राजनीति

देउवालाई महामन्त्री नै तघारोः संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन दवाव

देउवालाई महामन्त्री नै तघारोः संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन दवाव

सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी विधेयकमा प्रधानमन्त्री शेरवहादुर देउवालाई उनकै पार्टीका महामन्त्रीले अप्ठ्यारोमा पारेका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा दुवैले विधेयकको विरोध गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधानसहित विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर शर्माले प्रश्न गरेका छन् । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको महामन्त्री शर्माको भनाइ छ ।

‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !’ भन्दै सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’

यसैगरी, अर्का महामन्त्री गगन थापाले पनि संवैधानिक परिषद् सम्बन्धी विधेयकका कतिपय प्रावधान गलत भएकाले आज–भोलि नै फिर्ता हुने बताएका छन् । विधेयक फिर्ता लिने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ ।
 

संवैधानिक परिषद

विशेष