News यौन-शिक्षा

उपभोग्य वस्तुको आयात रोकेर ८४ करोडेका हतियार किन्दै सरकार

उपभोग्य वस्तुको आयात रोकेर ८४ करोडेका हतियार किन्दै सरकार

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै उपभोग्य वस्तुको आयातमा नियन्त्रण गरिरहेको सरकारले नेपाल प्रहरीका लागि ८४ करोडेका हतियार खरिदका लागि प्रक्रिया अघि बढाएको पाइएको छ ।

सरकारले इटलीको बेरेटा कम्पनीसँग हतियार खरिदको तयारी छ । त्यसका लागि बजेट अन्य स्रोतबाट रकमान्तर पनि गरिसकिएको छ । नेपाल प्रहरी स्रोतले दिएको जानकारीअनुसार यही महिनाको अन्त्यमा हतियार खरिदका लागि प्रतीतपत्र खोल्ने तयारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा अर्थमन्त्री जनार्दन शर्माले जाँदाजाँदै रकमान्तर गरेर हतियार किन्ने निर्णय भएको स्रोत बताउँछ । जानकारीअनुसार ११५० थान १२ बोरका बन्दुक, एक हजार थान एमएमको पेस्तोल खरिदको तयारी गरिएको छ ।

व्यापारी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स् र त्यस अन्तर्गतको अर्को कम्पनीमार्फत किन्न लागिएको १२ बोरको बन्दुक सहरी क्षेत्रमा चलाउन र प्रयोग गर्न प्रतिबन्धित रहेको विज्ञहरुको भनाई छ।

मिलेमतोमा हतियार खरिद गर्ने गरी सरकारले तीन वर्षअघि बनाएको कार्यविधिअनुसार बिचौलिया, राजनीतिक शक्ति केन्द्र र प्रहरीका उच्च अधिकारीहरूले कमिसनका रूपमा ढुकुटीको रकम हत्याउने गरेका छन । यसपालि प्रधानममन्त्रीको प्रत्यक्ष निर्देशनमा अर्थ तथा गृहका अधिकारीको ‘ग्रिन सिग्नल’ पाएपछि प्रहरी प्रधान कार्यालयले यही मसान्तभित्र प्रतीतपत्र खोल्ने तयारी गरेको छ । असार मसान्तमा हतार–हतार बजेट खर्च गर्ने र कमिसन भागबन्डा गर्ने उद्देश्यले बजेट रकमान्तर गरिएको अर्थकै अधिकारीहरूको भनाइ छ ।

प्रहरीले हतियार खरिदका लागि ८० करोड ५० लाख र ‘मेसिनरी तथा औजार’ खरिदका लागि ४५ करोड ९१ लाख रुपैयाँ माग गरेको थियो । प्रहरी प्रधान कार्यालय स्रोतले हतियार किन्नकै लागि ८४ करोड रुपैयाँको बजेट सुनिश्चितता भएको पुष्टि गरेको छ । 
प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले प्रहरीका लागि अत्यावश्यक भएरै भीड नियन्त्रणका उपकरण र पेस्तोलसहितका सामग्री किन्न लागिएको बताए । 

प्रहरीसँग हतियार अपुग भएकैले चुनावताका करिब ८ हजार थान हतियार सेनाबाट ल्याएर काम चलाएको र ती हतियार चुनाव सकिएपछि उतै फर्काइएको उनले बताए । त्यसो त प्रहरीले सेनाबाट १० हजार इन्सास राइफल लिने गरी यसअघि नै समझदारी भएको छ ।

यो विषय अहिले संसदमा पनि प्रवेश गरेको छ। नेकपा एमालेका सांसद नवराज सिलवालले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कमिसनका लागि सरकारले हतियार किन्न लागेको आरोप लगाएका छन्। पूर्व डिआइजी समेत रहेका सिलवालले नेपाल प्रहरीलाई आवश्यक नै नपर्ने हतियार किन्न लागिएको भन्दै सरकारको आलोचना गरे।
सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न लागिएको आरोप समेत लगाए। बिचौलियाले खडा गरेको फाइलमा सही गर्न लगाएर प्रहरी अधिकारीहरुलाई फसाउने र विगतको सुडान घोटाला जस्तै कमिसनखोर र नेताहरु जोगिने तर निरीह कर्मचारी फस्ने अवस्था आउनसक्ने बताए।

हतियार खरिदबारे उच्च प्रहरी अधिकारीलाई जानकारी नदिई बिचौलिया र गठबन्धनका नेता तथा मन्त्रीहरुले भित्रभित्रै सेटिङ गरेको आरोप उनको छ।

विशेष