News

सरकारको विरोध गर्न वडा अध्यक्षले कार्यालयनै ल्याए सडकमा

सरकारको विरोध गर्न वडा अध्यक्षले कार्यालयनै ल्याए सडकमा

राज्यबाट पाउनु पर्ने सेवा सुविधा प्राप्त नगर्दा वा अन्यायमा पर्दा नागरिकले त्यसको प्रतिवाद गर्छन। त्यसका आ–आफनै शैली र प्रकृया हुन्छन। नेपालमा प्राय सरकार र सत्तासिन दल वाहिरका नेता/कार्यकर्ता वाह्रैमास विरोधमा देखिन्छन् ।

विरोध स्थल हुन्छ सडक। टायर वाल्ने, यातायातका साधन रोक्ने, तोडफोड गर्ने, कार्यालयमा गएर कर्मचारीलाई गलहत्याउने, कालोमोसो दल्ने, नाराजुलुस गर्ने, पुतला जलाउने लगायत नेपालमा चलनेका विरोधका तरिका हुन।

तर, भक्तपुरको चाँगुनारायण नगरपालिका २ का वडाध्यक्ष धनबहादुर लामा आफु सरकारमै हुँदा पनि विरोधमा उत्रिए। उनको पनि विरोध गर्ने स्थल त सडक नै हो, तर, शैली अरु भन्दा  फरक छ। लामाले आफनो विरोध पदर्शन गर्न अहिले सडकबाटै कार्यालय सञ्चालन गरेका छन् । भक्तपुर–नगरकोटको बाटो समयमा नबनेपछि त्यसको विरोध गर्न उनले सडकमा कार्यालय राख्न लागेका हुन् ।

२ वर्षमा बन्नुपर्ने सडक ९ वर्षसम्म नबनेपछि वडाध्यक्ष लामा दवाव दिन सडकमै उत्रिएका हुन् ।  नेपाल सरकारको अकर्मन्यता र ठेकेदारको लापरवाहीले सर्वसाधारणले दुःख पाएपछि बाध्य भएर विरोध गर्नु परेको लामाले बताए ।

‘२ वर्षमा पुरा गर्नुपर्ने भक्तपुर नगरकोट बाटो ठेकेदारको लापरवाही र नेपाल सरकारको अकर्मण्यताले ९ वर्ष पुग्दा पनि बन्न सकेन । मैले दबाब स्वरुप बाध्य भएर वडा अध्यक्षको हैसियतले ध्यानाकर्षण गराउन कार्यालय सडकमा ल्याएको छु’ उनले भने, ‘भक्तपुर नगरकोट खण्डको बाटो बनाउनुपर्यो भनेर सरकारका सबै निकायलाई गुहारे । मेरो हैसियतले कुरा सुनुवाई भएन। बाध्य भएर सडकमा आएको छु ।’

वडा अध्यक्ष लामा भक्तपुर नगरकोट सडक खण्डको लामा चौरमा आफ्नो कुर्सी लिएर सडकमा आएका छन् । यो सडक खण्ड बन्ने निश्चित नभएसम्म यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने लामाले बताए ।

पर्यटकीय महत्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा राज्यका निकायहरू ठेकेदारलाई समय थप्न बढी लालायित भएको पाइएको छ । उपत्यकाको सुगम स्थानमा निर्माण थालिएको यो सडक निर्माण गर्ने ठेकेदारलाई चौथोपटक समय थप गरिएको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले ९ वर्ष पूरा हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । यसअघि भक्तपुर नगरकोट सडक खण्डमा बाटो नबन्दा गाडी चालकले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो नै गाडीमा टाँगेर विरोध गरेका थिए । बाटो नबनाउँदा सुख्खा मौसममा धुलो र वर्षा मौसममा हिलो व्यहोर्नु परेको भन्दै गाडी चालकले विरोध गरेका थिए । 

सम्झौता अनुसार ठेकेदार कम्पनीले २०७३ असार ४ गते सडक निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने थियो। समयमा काम नसकिएपछि २०७४ कात्तिक ४ गतेसम्मको लागि समय थपियो तर काम सम्पन्न भएन। फेरि २०७४ कात्तिक १८ गतेसम्मको लागि म्याद थपियो तर ठेकेदार कम्पनीले फेरि पनि काम सम्पन्न गर्न सकेन। अन्ततः फेरि २०७५ जेठ ३० सम्मको लागि समय थपियो। काम सम्पन्न भएन। यसरी पटक पटक समय थप्दै गएपनि कामको प्रगति नदेखिएको स्थानीय वताउँछन्।

चाँगुनारायण नगरपालिका भक्तपुर–नगरकोट

विशेष