महेन्द्र राय भन्छन्– विरगञ्जको बैठकमा असुरक्षा छ, त्यसैले गईँन
जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले विरगञ्जमा आयोजित केन्द्रीय समितिको बिस्तारित बैठकमा असुरक्षा भएर आफु सहभागि नभएको बताएका छन् । उनले कस्तो खालको असुरक्षा र कोबाट असुरक्षा भन्ने विषय भने खुलाएनन्।
काठमाडौंमा सवै कुराको सुविधा हुँदाहुँदै विरगञ्जमा कार्यक्रम आयोजना गर्नुलाई उनले शंकाको दृष्टिले हेरेका छन् ।
आज काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरको केन्द्रीय समितिको बिस्तारित बैठकमा बोल्दै उनले भने, ‘वीरगन्जमा पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के असुविधा थियो र वीरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्यो ?’
‘ल सहमतिमै भएको भए त जहाँ राखे पनि हामीलाई केही आपत्ती हुन्न थियो तर थाहा नदिएर एकलौटी रूपमा बैठक किन बोलाइयो?’ भन्दै उनले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न गरे। ‘हामी वीरगन्ज जान तयार थियौं तर पार्टीमा यस विषयमा सहकार्य र छलफल हुनुपर्थ्यो’ उनले भने–‘वीरगन्जको बैठक आफैंमा हामीलाई असुरक्षाको अनुभूती भयो। त्यहाँ विभिन्न नाराजुलुस हुन सक्यो। जसपाको सम्मान र प्रतिष्ठा बचाउन हामीले यो बैठक आयोजना गरेका हौ।’
पार्टीमा आफूहरूले बोल्नै नपाएको जिकिर गरेका उनले सबैले बोल्न पाउनुपर्ने जिकिर गरे। बैठकबाट कसैलाई बञ्चित गर्न पाइन्न तर अध्यक्षले एकलौटी ढंगले आफूहरूलाई बहिष्कार गरेर बैठकमा बोल्नै नदिएको उनले दाबी छ।