News

एक वर्षमा भ्रष्टाचार घट्यो, सरकार सन्तोषजक ढंगले चलेको छः कांग्रेस

एक वर्षमा भ्रष्टाचार घट्यो, सरकार सन्तोषजक ढंगले चलेको छः कांग्रेस

नेपाली कांग्रेसले आफनो नेतृत्वमा सरकार गठन भएपछि भ्रष्टाचार घटेको दाबी गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछिको एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दावी गरे।

मंगलबार पार्टी केन्द्रीय कार्य समिति बैठकका निर्णयबारे जानकारी दिदै महतले केपी ओलीको पालामा वढेको भ्रष्टाचार कांग्रेस नेतृत्वको सरकारले नियन्त्रण गरेको बताए। उनले यो अवधिमा सरकार पनि सन्तोषजनक ढंगले चलेको वताए ।

‘एक वर्षको अनुभव छ, सरकार सन्तोषजनक ढंगले चलेको छ। कतिपय उपलब्धीहरु पनि यो सरकारले हासिल गरेको छ’ उनले भने–‘कोभिडको कत्रो चाहिँ ब्यापक प्रकोप थियो। ओलीजीको सरकारको पालमा। पछि चाहिँ भ्याक्सिनेसन ल्याएर सहज जीवन भएको छ। हामी चाँडै बिर्सिन्छौं। त्यस्तै गरेर ठूलो भ्रष्टाचार, एक पछि अर्को काण्डै काण्ड भएको अवस्था थियो। त्यो रोकिएको छ।’ 

एमसीसी संसदबाट पास हुनुलाई पनि महतले आफनो सरकारको उपलब्धि बताए । अन्यौलपूर्ण अवस्थामा रहेको वैदेशिक नीतिलाई पनि ठिक ठाउँमा ल्याएको उनको भनाई छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएकोबारे कांग्रेसको यस्तो निष्कर्ष आएको हो। सर्वोच्च अदालतको आदेशमा गतवर्ष असार २९ गते देउवा प्रधानमन्त्री भएका थिए।
 

विशेष