News विदेश

श्रीलंकाली राष्ट्रपतिको दुवई भाग्ने योजना यसरी भयो असफल

श्रीलंकाली राष्ट्रपतिको दुवई भाग्ने योजना यसरी भयो असफल

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षको परिवारसहित देश छाडेर भाग्ने योजना असफल भएको छ। राजापाक्षेले सोमबार राति देश छाडेर भाग्ने प्रयास गरेका थिए। तर, विमानस्थलका कर्मचारीले बाटो छेक्दा उनी अपमानजनक रुपमा फर्किन बाध्य भएका छन्।

उनलाई अध्यागमन कार्यालयले अवरोध गरेको वुझिएको छ। विमानस्थलमा अध्यागमनका अधिकारीले उनको राहदानीमा छाप लगाउन अस्वीकार गरेका छन्। देशमा हालसम्मकै खराब आर्थिक संकट आउनुमा उनको प्रमुख भूमिका रहेको भन्दै व्यापक प्रदर्शन भइरहेको छ । प्रदर्शनपछि ७३ वर्षीय गोटाबाय राष्ट्रपति निवास छाडेर गत साता अज्ञातस्थलतर्फ भागेका थिए ।

उनले गिरफ्तारको सट्टा राष्ट्रपतिकै हैसियतमा परिवारसहित भाग्न चाहेको बताइएको छ । राष्ट्रपति र उनकी श्रीमतीले संयुक्त अरब इमिरेट्सतर्फ जाने चार वटा उडान छुटेपछि बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको सैन्य आधारमा रात बिताएको जनाईएको छ।

राजापाक्षे नौसेनाको डुंगाबाट श्रीलंका छाडेर भाग्ने तयारी गरिरहेको जनाईएको छ। राष्ट्रपति पदमा कायम रहँदासम्म राजापाक्षेलाई गिरफ्तारीबाट उन्मुक्ति प्राप्त छ। त्यसैले पदत्याग गर्नुअघि नै उनी विदेश जान चाहेको बताइएको छ। 

उनी मात्र होइन, उनका भाइ पूर्वअर्थमन्त्री बेसिल राजापाक्षेले पनि मंगलबार बिहान दुबई हुँदै अमेरिका भाग्ने कोसिस गरेका थिए। तर, कर्मचारीले उनलाई रोकेपछि अमेरिकी नागरिक समेत रहेका बेसिल फर्केका थिए।

राजापाक्षे परिवारका सदस्यले देश छाडेर भाग्ने प्रयास गरेको खुलासापछि बेसिल, महिन्दा, प्रधानमन्त्री रनिल विक्रमासिंगे र अन्य अधिकारीहरुलाई देशबाहिर जान प्रतिबन्ध लगाउने आदेश दिन मंगलबार सर्वोच्च अदालतमा निवेदन परेको छ। 

राष्ट्रपति राजापाक्षेमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाको आरोप छ भने युद्धअपराधको आरोप पनि छ। तमिल अल्पसंख्यकविरुद्धको गृहयुद्धमा रक्षा सचिव रहेका उनमाथि बेपत्ता बनाएको र गैरकानुनी हत्या गरेको आरोप छ।
 

श्रीलंका गोटाबाय राजापाक्ष

विशेष