News अर्थ

महालेखाको प्रतिवेदन: १ खर्ब २७ अर्ब थपिएर ८ खर्ब २९ अर्ब नाघ्यो बेरुजु (सारांशसहित)

महालेखाको प्रतिवेदन: १ खर्ब २७ अर्ब थपिएर ८ खर्ब २९ अर्ब नाघ्यो बेरुजु (सारांशसहित)

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार २०७७/०७८ सम्मको बेरुजु रकम ८ खर्ब २९ अर्ब ३५ करोड पुगेको छ।  अघिल्लो आवमा यस्तो बेरुजु ६ खर्ब ७६ अर्ब थियो। 

महालेखा परीक्षकका अनुसार गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको छ । गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोडमा फस्यौट तथा समायोजन गरिएको अङ्क ५० अर्ब २९ करोड घटाई यो वर्ष थप भएको १ खर्ब १५ अर्ब ५ करोडसमेत ४ खर्ब ८३ अर्ब ५९ करोड बाँकी रहेको छ। 

लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ अर्ब २० करोड असुल भएको छ। अद्यावधिक कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम गत वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रहेकोमा यो वर्ष ८ खर्ब २९ अर्ब १५ करोड पुगेको छ। 

यस वर्ष म्याद ननाघेको पेश्कीलाई लगती बेरुजु कायम गरिएको छैन सोबाट बेरुजु अंक र प्रतिशत घटेको छ।

महालेखा कार्यालयले यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्था समेतको ७५ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको जनाएको छ ।

बुधबार सार्वजनिक भएको प्रतिवेदनअनुसार संघीय सरकारअन्तर्गतका ३ हजार २ सय ८७ सरकारी कार्यालयको लेखापरीक्षण गरिएको थियो । यस्ता निकायहरुमा गतवर्ष २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षण भएकोमा ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

यस्तै, प्रदेशअन्तर्गतका १ हजार १ सय ३१ वटा निकाय र कार्यालयको २ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु देखिएको छ । स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा ४३ अर्ब ९० करोड बेरुजु देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

देशभरका ४ सय ४८ समिति तथा अरु संस्थाको २ खर्ब ६ अर्ब १२ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा १४ अर्ब १९ करोड बेरुजु देखिएको छ । 
यस्तो छ सारांश

बेरुजु महालेखा परीक्षकको कार्यालय

विशेष