News

धर्म संकटमा बालेन्द्रः हराएको टुकुचा खोला खोज्ने की लक्ष्मी बैंकसँग मिल्ने ?

धर्म संकटमा बालेन्द्रः हराएको टुकुचा खोला खोज्ने की लक्ष्मी बैंकसँग मिल्ने ?

काठमाण्डौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब बनाईएको वर्षौ वितेको छ। खोलामाथि ६ तलेभन्दा अग्ला भवन बनेका छन । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन । यहाँ ब्यापारिक भवनदेखि बैंक, रेष्टुरेन्ट लगायतका संरचना वनाईएको छ ।

कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा बूढानीलकण्ठबाट सुरु भएर बालुवाटार, हात्तीसार, प्रदर्शनी मार्गहुँदै थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । टुकुचा, कुनै समय ठूलै खोला थियो। तर अहिले दुब्लाएको मात्रै छैन, बालुवाटार, गैह्रीधारा, हात्तिसारक्षेत्रमा टुकुचा खोला वेपत्ता भएको छ। हात्तीसार क्षेत्रमा त टुकुचा खोलामाथि व्यापारिक भवनहरु बनेका छन् र त्यहाँ लक्ष्मी बैंकले आफनो केन्द्रीय कार्यालय नै संचालन गरेको छ। यो सँगै इन्स्योरेन्स तथा रेष्टुरेण्ट पनि संचालनमा छन् ।

मुख्यतः गैह्रीधारादेखि कमलादीसम्म पुग्दा टुकुचा खोलाको अस्तित्व करिब करिब सकिएको छ । काठमाण्डौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापी नक्सामा छैन। यो क्षेत्रमा खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको क्षेत्रमा खोला गायव पारी भवन निर्माण गरिएको विषयमा स्थलगत अध्ययन गरी नापी कार्यालयलाई पत्राचार गरेको थियो। नापीले त्यस क्षेत्रमा खोला नै गायब भएको जवाफ पठाको थियो।

प्राधिकरणका अनुसार टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम छ । काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्मको चौडाई पनि सरदर कम्तीमा चार मिटर हो । यसलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । यस क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोडभन्दा वढि पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँभन्दा वढिको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ ।

भूमिसम्बन्धि ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोलो कसैले छोप्न नपाउ“ने स्पष्ट ब्यवस्था गरेको छ। यदि कसैले हडपेको, छापेको वा मिचेको भए खोलो पूर्ववत् अवस्थामै फर्काउनुपर्छ । तर नापी कार्यालयले खोलामाथि नापेर कित्ता छुट्याइदिने, मालपोत कार्यालयले लालपुर्जा दिने र काठमाण्डौ महानगरपालिका तथा उपत्यका विकास प्राधिकरणले नक्सा स्विकृत गरिदिने गरेकैले अहिलेको अवस्था आएको जानकारहरु वताउँछन् ।

उपत्यका विकास प्राधिकरण र काठमाण्डौ महानगरपािलकाले टुकुचा खोला पुर्ववत अबस्थामा फर्काउने प्रयास गर्नुको सट्टा ब्यापरिक भवनहरु निर्माण गर्नका लागि धमाधम नक्सा पास गरि स्विकृति दिन थालेपछि हात्तिसार उपभोक्ता समितीले ब्यापारिक भवन निर्माण कार्य रोक्न निवेदन दिए । त्यस विषयमा काठमाण्डौ महानगरपालिकाले छानविन र स्थलगत अध्ययन पनि गर्यो। त्यसपछि खोलामाथि संरचना बनाउन लागेका लक्ष्मी बैँक र एसबीएल डेभलपर्सलाई निर्देशन पनि दियो ।

तर सुकुम्बासी बस्तीमा डोजर चलाउन सक्ने महानगरपालिकाले ब्यापारिक भवनहरु भत्काउन त के, निर्माण रोक्का राख्न पनि सकेन । उपत्यका विकास प्राधिकरणको नीती अनुसार अहिले टुकुचा खोला वरपर संरचना निर्माण गर्दा सिमानाबाट ४ मिटर छोड्नुपर्ने प्राबधान छ । तर हात्तिसार क्षेत्रमा टुकुकचाको सिमानाबाट ४ मिटर त के टुकुचामाथि नै संरचना निर्माण भएको छ । ब्यापारिक घरानाको भवन रहेकोले, त्यो भवन भत्काउने त परैको कुरा स्पष्टिकरण सोध्न समेत आँट कसैले गरेको छैन । बरु उपत्यका विकास प्राधिकरणको काठमाण्डौँ जिल्ला आयुक्त कार्यालयले यससम्बन्धि फायल नै गायव पारेको गुनासो सरोकारवालाको छ ।

लक्ष्मी वैंकको मिडिया हेर्ने कर्मचारी रुजिना रंजितकारले आफुलाई यस विषयमा सम्पुर्ण जानकारी नभएकाले सवै कुरा वुझेर जानकारी गराउने वताईन ।

विद्यासुन्दरको बिँडो थाम्लान त बालेन्द्रले ?
उसो त काठमाण्डौं महानगपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले जाँदाजाँदै टुकुचा खोलामाथि वनेका वैंक तथा ब्यापारिक संरचना भत्काउने निर्णय गरेका छन् । तर, मेयर बालेन्द्र साह निर्वाचित भएपछि यो विषय फेरी सेलाएको छ।

टुकुचा खोला लक्ष्मी बैँक

विशेष