News विदेश

देश छोडेर भागे श्रीलंकाली राष्ट्रपति, माल्दिभ्स पुगेको चर्चा

देश छोडेर भागे श्रीलंकाली राष्ट्रपति, माल्दिभ्स पुगेको चर्चा

निकै संघर्षपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भाग्न सफल भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने योजनामा थिए।

देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । तर, उनी मंगलबार भने कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट भागेको जनाईएको छ। श्रीलंकाको सैन्य विमान एन्टोनोभ–३२ मार्फत उनले देश छाडेका हुन् । विमानमा ७३ वर्षीय राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु रहेका छन् ।

कतिपय सञ्चार माध्यमले उनी माल्दिभ्स पुगेको जनाएका छन् । तर, यसको पुष्टि भएको छैन। माल्दिभ्समा अवतरणको अनुमति नहुँदा अन्योलमा परेपछि विमान एक घण्टाभन्दा बढी टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति राजापाक्षेलाई पदच्यूत गर्न प्रदर्शनकारीले महिनौंदेखि प्रदर्शन जारी राखेपछि बुधबार उनले आधिकारिक रूपमा राजीनामा दिएका थिए । यसअघि सोमबार राति उनले दुबई भाग्ने असफल प्रयास गरेका थिए ।

सोमबार राति अध्यागमनका अधिकारीहरूले उनलाई राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट रोकेका थिए । नागरिकहरूले प्रयोग गर्ने सामान्य लाइनमा बस्न डराएर उनी शिविरमै फर्किएका थिए । नतिजास्वरुप उनले संयुक्त अरब इमिरेट्सका चार उडानहरू गुमाएका थिए ।

विमानस्थलबाट फर्किएका राजापाक्षेले श्रीमती र एक दर्जन परिवारका अन्य सदस्यसहित सैन्य शिविरमा रात बिताएका थिए ।

यसअघि पनि देश छाड्न प्रयास गरेका उनलाई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूताबासले उनलाई भ्रमण भिसा दिन अस्वीकार गरेको थियो ।

उनी राष्ट्रपतिको उम्मेदवार बन्नुअघि वर्षौंदेखि अमेरिका बस्दै आएका थिए । त्यहाँ उनका एक छोरा र नातिनातिना रहेका छन् । राष्ट्रपतिको उम्मेदवार बन्न उनले अमेरिकी नागरिकता त्यागेका थिए । 

राष्ट्रपति राजापाक्षेसँगै उनका भाई पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि मुलुक छाडेर अमेरिका पुगेको स्रोतलाई उदृृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति राजापाक्षे भागेसँगै प्रदर्शनमा उत्रेका सर्वसाधारणले श्रीलंकाको राजधानीमा कोलम्बोमा खुसीयाली मनाइरहेका छन् । गत शनिबारदेखि नै निरन्तर ठूलो प्रदर्शन गरिररहेका प्रदर्शनकारीहरु मंगलबार झन् धेरै जम्मा भएका थिए ।

पदबाट राजीनामा दिन तयार भएपनि अब नयाँ राजनीतिक समीकरण अन्तर्गत बन्ने शासन संरचनाले आफूलाई पक्राउ र कारबाही गर्ने संभावना बढेपछि राजापाक्षे देश छोडेर भागेका हुन् ।

श्रीलंका राष्ट्रपति गोटाबाया राजपाक्षे

विशेष