को हुन एमालेमा ७ वर्षदेखि भुमिगत राजनीति गरिरहेका एम अधिकारी ?

नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एकै ब्यक्ति भएको भन्दै राजिनामा माग्न थालिएपछि जोगिने र जोगाउने खेल सुरु भएको छ।
ब्यापक आलोचना र राजिनामा माग्न थालिएपछि गर्भनर अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्राचार गरी ‘आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने’ जनाएर उम्किने प्रयास गरेका छन् भने एमालेले पनि ‘एम अधिकारी तपाई होईन’ भन्ने आसायको पत्र पठाएर उनलाई जोगाउने प्रयास गरेको छ।
गभर्नर अधिकारीले असार २९ गते एमाले केन्द्रीय कार्यालयलाई लेखेको पत्रमा ‘म सम्पूर्ण राजनीतिक दल र नेतृत्वको सम्मान गर्छु। साथै त्यस दल लगायत अन्य कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यहोरासमेत स्पष्ट पार्न चाहन्छु। यसरी राजनीतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विषेशको कुनै समितिमा रहने, बस्ने भन्ने कल्पना बाहिरको विषय हुँदा हुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले श्रृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु’ लेखिएको थियो।
उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।
‘हाम्रो कमिटि र विभागमा सार्वजनिक पद धारणा गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन। तसर्थ उक्त विभागको उल्लेखित एम अधिकारी खोटाङ भनि उल्लेखित व्यक्ति तपाईँ राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यवहोरा स्पष्ट गर्दछु,’ कार्यालय सचिव भिष्म अधिकारीले भनेका छन्।
तर, स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर होइनन् भनिए पनि त्यो ब्यक्ति को हो त ? भन्ने बताइएको छैन । पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।
सात वर्षअघि पनि एमाले र गभर्नर अधिकारीबीच यसैगरी पत्राचार भएको पाईएको छ। ०७३ जेठ २५ मा भएको पत्राचारमा गभर्नर अधिकारीले एमालेको अर्थ तथा योजना विभागमा आफूसँग मिल्दोजुल्दो नाम गरेको व्यक्ति विभागको सदस्य भएकाले कथं कदाचित उक्त नाम आफ्नो भए हटाइदिन भन्दै एमालेलाई पत्राचार गरेका थिए ।
अधिकारीले पठाएको पत्रको ०७३ असार २० गते जवाफ दिदै एमालेका तत्कालिन कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले महाप्रसाद अधिकारीको विभागसँग सम्बन्ध नरहेको उल्लेख गरेका छन् ।
भुमिगत कालमा नेताहरुले छद्म नाम राखेर राजनीति गर्दै आएका थिए । तर, जनयुद्ध गरेको नेकपा माओवादी समेत खुल्ला राजनीतिमा आईसकेको अवस्थामा मुलधारको राजनीति गर्दै आएको एमालेले सात वर्षदेखि एउटा ब्यक्तिलाई भने किन भुमिगत राखिरहेको छ ? भन्ने विषयमा अहिले आम चासो छ। यो चासोको चित्तवुझ्दो जवाफ एमालेले दिन सकेको छैन।