News

टुकुचाको छातिमा बसेको लक्ष्मी बैंकले खोला धितो राखेर ऋण दिन्छ ?

टुकुचाको छातिमा बसेको लक्ष्मी बैंकले खोला धितो राखेर ऋण दिन्छ ?

के तपाई सार्वजनिक जग्गा जस्तै बाटो, खोला, आदि मिचेर स्थायी संरचना बनाउन चाहानु हुन्छ? त्यसको लागि कर्जा चाहिएको छ ? यदि त्यस्तो योजनामा हुनुहुन्छ भने सम्झनुहोस लक्ष्मी बैंक। 

तपाईले अब बगिरहेको खोला र सवारी साधान गुडिरहेको सडकमा मात्र होईन जुनसुकै सार्वजनिक जग्गामा आलिसान बङ्ला बनाउन सक्नु हुन्छ। त्यही संरचनामा ब्यापार/ब्यवसाय गर्न पनि सक्नुहुन्छ। तपाईका यस्ता काममा नेपाल राष्ट्र बैंक बाट ‘क’ वर्गको इजाजत प्राप्त वित्तय संस्था लक्ष्मी बैंकले मात्रै सहयोग गर्न सक्छ। 

अन्य बैंक तथा वित्तिय संस्थाले ऋण प्रवाह गर्दा कमशल जग्गा समेत धितोको रुपमा स्विकार गर्दैनन्। बैंकलाई झुक्याएर सार्वजनिक जग्गा धितो राखि ऋण लिने/दिने गरे कारवाही हुन्छ। धेरैलाई कारवाही भएका घट्ना समेत सार्वजनिक भएका छन् । तर, लक्ष्मी वैंक मात्रै त्यस्तो संस्था हो, जसबाट खोलाको जग्गा पनि धितो राखेर ऋण लिन सक्ने अवस्था छ।

किनकी लक्ष्मी बैंकको आफ्नै कार्यालय भवन खोला माथि छ। लक्ष्मी बैंकले हात्तिसारमा टुकुचा खोला मिचेको मात्र होईन, खोलै मासेर त्यसमाथि आलिसान भवन बनाएको छ। जहाँ बैंक आफु त वसेको छ नै, अन्य ब्यापारिक प्रतिष्ठानलाई समेत भाडामा राखेको छ। सार्वजनिक सम्पत्ति हडपेर लक्ष्मी बैंकले करोडौ रुपैयाँ भाडा मात्रै असुलीरहेको जानकारहरु वताउँछन् । आफैले यसरी खोलामाथि भवन बनाउने वैंकले अरुले पनि त्यसै गर्छु भन्दा कसो ऋण नदेला ?

यदि जग्गा मिचेको विषयमा कारवाहीको डर मान्नु हुन्छ भने त्यसको समाधान पनि लक्ष्मी बैंकसँगै छ। बैंक तथा कर्पोरेट हाउसले यसरी सार्वजनिक सम्पत्ति मिचेर भवन वनाउँदा र ब्यापार ब्यवसाय गर्दा रोक्न नसक्ने सरकारी संयन्त्रले तपाईलाई पनि हटाउने नैतिक्ता राख्दैन। किनकी नेपालको कानुन सवैलाई वरावर हो, कसैलाई काखा र कसैलाई पाखा गर्ने छुट नेपालको संविधानले दिदैन।

त्यसमाथि यो क्षेत्रमा लक्ष्मी वैंकमात्रै होईन, झन्डै १० रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । यस क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोडभन्दा वढि पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँभन्दा वढिको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ ।

उसो त, काठमाण्डौं महानगरपालिकाले लक्ष्मी वैंकलगायतलाई खोलामाथि घर नवनाउन नरोकेको भने होईन। नसकेर हो वा सेटिङ्ग मिलेर हो महानगरको निर्देशनलाई वैंकले टेरपुछर लाएन। महानगरले भवन वनिसकेपछि पनि भत्काउन भन्यो। पुर्वमेयर बिद्यासुन्दर शाक्यले खोलामाथि वनेका भवन भत्काउने निर्णय पनि गराएका छन् । तर, उनको यो सह्रानिय निर्णयलाई लक्ष्मी बैंकले एक कानले सुनेर अर्को कानले उडाई दियो।

महानगरको यो निर्णयलाई वैंकले वास्ता गरेको पाईएको छैन। लक्ष्मी वैंकका कर्मचारीहरु समेत यस विषयमा आफुहरुलाई जानकारी नै नभएको वताउँछन् । लक्ष्मी वैंकको मिडिया हेर्ने कर्मचारी रुजिना रंजितकारले आफुलाई यस विषयमा सम्पुर्ण जानकारी नभएकाले सवै कुरा वुझेर मात्रै जानकारी गराउने वताईन ।

अर्कोतर्फ, लक्ष्मी बैंकको यो शैलीले जनमानसमा भने नराम्रो सन्देश गएको छ। ‘सक्नेले जे गर्दा पनि हुन्छ’ भन्ने मान्यता स्थापित हुँदै गएको छ। बाटो, खोला, कुलो, पैनी, जंगललगायत जस्तो सुकै स्थानलाई मिचेर घर बनाउन सकिने रहेछ भन्ने भान पर्न थालेको छ। 

लक्ष्मी बैंक मात्र होईन, यसको अर्को उदाहारण हो– ठेकेदार मनोज भेटवाल प्रकरण । काठमाण्डौं भ्यु टावर निर्माणको मौका पारेर भेटवालले खुल्ला मञ्च कब्जा गर्ने षडयन्त्र गरेका थिए। खुल्ला मञ्चमा पक्की संरचना निर्माण गर्ने र भाडा बापत अरबौ अकुत सम्पत्ति जम्मा गर्ने उनको दाउ थियो । यी प्रकरणले देशमा शक्ति भए जे गर्दा नी हुन्छ भन्ने मान्यता तयार भएको र यो कानुनी राज्यका लागि राम्रो लक्षण नभएको उनीहरुको भनाई छ।

तर, अव महानगरको मेयरमा बालेन्द्र साह निर्वाचित भएर आएका छन्। उनको चुनावी एजेण्डा नै काठमाण्डौंलाई मौलिक रुपमा विकास गर्नु हो। खोला, पाटी, पौवा तथा पानीका श्रोतको संरक्षण गर्नु हो। त्यसैले मेयर आफनो एजेण्डामा अडिग भए भने बैकले बालेन्द्रलाई चाहीँ ‘बाल’ दिन सक्छ। त्यस वेला भने तपाईको योजना पुरा नहुन सक्छ। बालेन्द्र साह यदि साँच्चै काठमाण्डौंको विकासका लागि आएका हुन भने लक्ष्मी बैंकलगायतको भवन भत्किन सक्छ। त्यसपछि त तपाईको योजना पनि पुरा नहुन सक्छ।

तर, बालेन्द्र साहले मेयरमा निर्वाचित भईसकेपछि यो प्रकरणमा आफनो धारणा सार्वजनिक गरेका छैनन्। महानगरबाटै वेपत्ता भएको टुकुचा खोला खोज्ने विषयमा पनि हालसम्म महानगरले प्रकृया अगाडि वढाएको जानकारीमा आएको छैन।

यो पनि,

धर्म संकटमा बालेन्द्रः हराएको टुकुचा खोला खोज्ने की लक्ष्मी बैंकसँग मिल्ने ?

लक्ष्मी बैँक टुकुचा खोला

विशेष