किन भिडकै नेता बन्न चाहान्छन् गगन थापा ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापा अडान राख्ने र भिजन दिने भन्दा पनि भिडको आवाज बोल्ने नेताका रुपमा स्थापित छन् । पेट्रोलिम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रहरीमाथि ढुङ्गा हानेर राजनीतिमा स्थापित भएका थापा त्यसपछि लगातार सडकको आवाज वोल्छन्।
संसदमा उनले वोल्ने विषय र भाषा पनि यस्तै हुन। उनी धेरै कुरा ‘चर्चाको लागि बोल्छन्’। हावा जता वग्छ, उनी उतै वग्छन्। तर, कतिपय अवस्थामा भने उनको यही शैली उनैलाई अफाव हुने गरेको छ। यही शैलीका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना भएको छ।
गत मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाइतर समूहबाट महामन्त्री जितेका गगन–विश्वप्रकाश केन्द्रीय सदस्यको तारो वने। यस अघि हुँदै आएका वैठक, भेला र छलफलहरुमा विवादको केन्द्रमा हुन्थे सभापति शेरवहादुर देउवा। तर, बुधबारको केन्द्रीय समितिमा भने शेरबहादुरलाई छाडेर केन्द्रीय सदस्यहरूले गगन र विश्वप्रकाशको आलोचना गरे।
महामन्त्रीद्वय गगन र विश्वप्रकाश संस्थागत निर्णयबाट भन्दा पनि एकलौटी ढंगबाट चल्ने गरेको उनीहरुको आरोप छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री गुट बैठकमा रमाएको भन्दै आलोचना गरे। शेखर पक्षबाटै महामन्त्री जितेका थापा कोईराला पक्षको गुट भेलामा सहभागी हुदै आएका छन् ।
यही विषयमा वुढाथोकीले भने–‘महामन्त्रीहरूको भूमिका चित्तबुझ्दै हुँदै भएन। कुनै महामन्त्री गुट भेलामा जानुहुन्छ कुनै के गर्नुहुन्छ। यस्तै हो भने हामी दुवै महामन्त्रीलाई बहिष्कार गर्छौं।’ उनले होटलहरूमा हुने गुट भेलामा नजान महामन्त्रीहरूलाई आग्रह गरेका थिए।
यसैगरी, नेविसंघका पूर्वअध्यक्ष राजिव ढुंगानाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउन भन्दै निर्वाचन आयोग पुगेको कुरालाई उठाएर आलोचना गरे। ‘विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि भन्दै महामन्त्रीहरू निर्वाचन आयोग जानुभएको थियो। तर त्यससम्बन्धी प्रस्ताव यहाँ आएन’ उनले भने–‘पार्टीमा छलफलविनै किन यसरी अघि बढिन्छ?’ महामन्त्रीद्वयले गत असार ७ मा निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग प्रवासी नेपालीको मताधिकारको कानूनी व्यवस्थाबारे छलफल गरेका थिए। यो विषयमा पार्टीमा छलफल र निर्णयविनै महामन्त्रीद्वय आयोगमा पुगेको भन्दै ढुंगानाले आलोचना गरेका थिए।
महामन्त्रीहरु जस्तै पार्टीको निर्णय विना अरू पदाधिकारी अर्को विषय लिएर अन्यत्र जाने गर्न थाले भने के हुन्छ ? भन्दै उनले प्रश्न गरे।
यस्तै महामन्त्रीद्वय पार्टीका समस्या समाधानतर्फ भूमिका खेल्नभन्दा पनि ‘सस्तो लोकप्रियताका लागि फेसबुक, ट्वीटरमा लेखेर रमाएको’ भन्दै आलोचना भयो। केन्द्रीय सदस्य रमेश रिजालले महामन्त्रीद्वय फेसबुक, ट्वीटर र सञ्चार माध्यमहरूमा रमाएको आरोप लगाए।
महामन्त्रीहरू आत्मकेन्द्रित प्रचारमा लागेको उनले आरोप छ। ‘उहाँहरू संगठनका काममा व्यस्त हुनुप¥यो। सस्तो लोकप्रियताका लागि फेसबुक, ट्वीटर र मिडियामा रमाउन भएन’– रिजालले भने।