News

उपसभामुखमा कांग्रेसकी भुसालको उम्मेदवारी, एमाले तयारीमै

उपसभामुखमा कांग्रेसकी भुसालको उम्मेदवारी, एमाले तयारीमै

सत्तारूढ गठबन्धन दलहरूले उपसभामुखमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल (गौतम) लाई प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवार बनाएका छन् । शुक्रवार हुने उपसभामुखको चुनावका लागि भुसालको उम्मेदवारी परेको हो।

भुसालको प्रस्तावकमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ र समर्थक नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरीको छन्। ०७६ सालदेखि खाली उपसभामुख पदका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उपसभामुखमा उम्मेदवारी दिने जनाएको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल भइरहेको छ । उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा निर्वाचन हुनेछ । त्यसका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

को हुन् भुसाल ?
उपसभामुखमा उम्मेदवारी दिएकी अर्घाखाँचीकी भुसाल कांग्रेसकी समानुपातिक सांसद हुन। संवैधानिक परिषद् बैठक अघि बढाउन समस्या परेको भन्दै कांग्रेसले उपसभामुखको चुनाव गर्ने निर्णय अगाडि वढाएको हो।

भुसाल २०७० मा अर्घाखाँची  क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन् भने ०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्। कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन्। उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन र वकालत पेशामा पनि संलग्न थिइन्। 

०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका बुवा काशीनाथ गौतम २०१७ सालमा सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन्। उनले १४ वर्ष भारतमा बिताइन्। उनी २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी हुन्। 

विशेष