News

स्थानीय प्रशासनको लापर्वाहीले कैदीको मृत्यु, कोरोनालाई दोस !

स्थानीय प्रशासनको लापर्वाहीले कैदीको मृत्यु, कोरोनालाई दोस !

ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएपछि मोरङ कारागारमा सजाय भोगिरहेका एक कैदीको मृत्यु भएको छ। जेल जिवन विताई रहेका ३९ वर्षीय कैदी नीरबहादुर नेपालको विहिवार राती कोरोना संक्रमणका कारण ज्यान गएको हो।

कैदी नेपालको मृत्युमा कारण कोरोना संक्रमण भएपछि उनको मृत्यु सरकार र स्थानीय प्रशासनको लापर्वाहीका कारण भएको सरोकारवालाले आरोप लगाएका छन् । करिब तीन सय कैदी वन्दी अट्ने क्षमता भएको मोरङ कारागारमा क्षमता भन्दा वढि कैदी वन्दी राखिएका कारण यस्तो अवस्था आएको उनीहरुको भनाई छ।

मोरङ कारागारमा अहिले करिव एक हजार कैदीबन्दी राखिएका छन । भेडावाख्रा राखेर जसरी कैदीवन्दी कोच्ने, वेला–वेला स्वास्थ्य जाँच नगर्ने र सतर्कता पनि नअपनाउने गरिएका कारण नेपालले अनाहकमा ज्यान गुमाउनु परेको आरोप छ।

नेपाल ०७६ साउन २५ गतेदेखि कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए। अत्याधिक ज्वरो आएपछि उनलाई कोसी अस्पताल लगिएको थियो। एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

अत्यधिक ज्वरो आएपछि  थप १८ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरिएको छ। भर्ना गरिएका कैदीबन्दीको शुक्रवार एन्टिजेन परीक्षण गराउँदा १६ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ।

उनीहरुलाई कोसीको कोभिड अस्पतालमा सारेर उपचार गर्ने तयारी भइरहेको मोरङका सिडिओ काशीनाथ दाहालले बताए । उनले अस्पताल र कारागारको स्थलगत अनुगमन गरेका छन् । कारागारका सबै कैदीबन्दीको ज्वरो परीक्षण गरेर शंकास्पदलाई आइसोलेट गर्ने तयारी भइरहेको छ । यसअघि यहाँका सबै कैदीबन्दीलाई कोभिडको दोहोरो भ्याक्सिन लगाइएको थियो ।

कोभिड संक्रमण देखा पर्न थालेपछि सबै सीमा÷नाकामा स्वास्थ्य परीक्षण सुरु गरेर स्थानीय निकायलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन र कोभिड परीक्षणको प्रक्रिया थाल्न आग्रह गरिएको दाहालले वताए । कोभिड संक्रमितको उपचारका लागि सबै आइसोलेसनलाई पुनः प्रयोगमा ल्याउने तयारी गरेका छन् ।

मोरङ कारागार कोरोना

विशेष