News

सुनमा तामा मिसाएर कस्ले खायो जलहरीको १७ किलो सुन ?

सुनमा तामा मिसाएर कस्ले खायो जलहरीको १७ किलो सुन ?

पशुपतिनाथ मन्दिरभित्र जलहरी बनाउँदा झण्डै १७ किलो तामा, चाँदी र जिंक मिसाएर सोही बरावरको सुन वेपत्ता पारिएको तथ्य वाहिर आएको छ। सुनमा अन्य धातु मिसाएर १७ किलो सुन हिनामिना भएको तथ्या महालेखा परिक्षकको कार्यालयले वाहिर ल्याएको हो।

पशुपति विकास कोषका अनुसार १ सय ७ किलो ४ सय ९० ग्रामको सुनको जलहरी बनाउने भनिएपनि जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम र बाँकी रहेको १० किलो ९७६ ग्राम रिङ बनाइ जलहरीमा लगाएको छ। तर, महालेखाको ५९औँ प्रतिवेदनमा भने ‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ, जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश भएको छैन’ भन्दै प्रतिवेदन वनाएको छ।

सुनमा शुद्धता प्रतिशत समान नरहेको र त्यसमा अन्य धातु तथा रसायनको मिश्रण गरिएको महालेखाले उल्लेख गरेको छ। सुनको जलहरीमा तामा २ किलो ९ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम,जिंक १२ किलो ७ सय ५० ग्रामसमेत गरी १६ किलो ९ सय ८९ ग्राम तामा‚ चाँदी र जिंकजस्ता धातु मिसाएर सुन हिनामिना भएको देखिएको छ। मिसाइएको र यी सबै धातुसहित उक्त जलहरीको तौल गरी १ सय ७ किलो ४ सय ९० ग्राम सुन कायम गरेकोसमेत महालेखाको प्रतिवेदनमा जनाईएको छ।

जलहरी निर्माण गर्न पशुपति क्षेत्र विकास कोषले गत वर्ष नेपाल राष्ट्र बैंकबाट १ सय ३ किलो ७ सय ७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरेको थियो। जलहरी निर्माणमा ठूलै गोलमाल भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो। त्यसमा अख्तियारीले छानबिनसमेत गरेको थियो।

जलहरी निर्माणमा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दायर भएको थियो। रिटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक तत्कालिन प्रधानमन्त्री ओली, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, कोषका तत्कालीन सदस्यसचिव ढकाल र तत्कालीन कोषाध्यक्ष थापा (वर्तमान सदस्यसचिव) लाई विपक्षी बनाइएको थियो। त्यसवेला पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल थिए। कोषका वर्तमान सदस्यसचिव डा मिलनकुमार थापा त्यस वेला कोषका कोषाध्यक्ष थिए। 
 

पशुपतिनाथ मन्दिर जलहरी १७ किलो सुन

विशेष