News

चीनियाँ नेताको नेपाल भ्रमणले दिल्लीमा खिचडीः प्रचण्ड उडे, आरजु उतै

चीनियाँ नेताको नेपाल भ्रमणले दिल्लीमा खिचडीः प्रचण्ड उडे, आरजु उतै

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्छाओको चारदिने नेपाल भ्रमणले नेपाली राजनीतिक वृत्तमा नयाँ खिचडी पाक्न थालेको आशंकाहरु उत्पन्न हुन थालेका छन् । 

लिउसँग भेटघाट गरे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणमा निस्कनु र ‘यसपछि आफू छिट्टै चीनको भ्रमणमा पनि जाने’ बताउनुले पनि राजनीतिक खिचडी पाक्दै गरेको संकेत मिलेको छ।

दाहालको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा समेत स्वास्थ्य उपचारको सिलसिलामा नयाँ दिल्लीमै छिन् । सबै घटनाक्रमले दाहालको भारत भ्रमण सामान्य होईन भन्ने संकेत गर्छ।

श्रोतका अनुसार लिउले असार २७ गते भेटेलगत्तै त्यसै राति भारतले दाहाललाई भ्रमणका लागि सन्देश पठाएको थियो । असार २८ गते नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव औपचारिक पत्र नै लिएर खुमलटार पुगेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणा बोकेर राजदूत खुमलटार पुगेका हुन् । दिल्ली पुगेका दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ ।

दाहालले भने भ्रमण आकस्मिक नभएको बताएका छन् । उनले लिउ जियानचाओको नेपाल भ्रमण र आफनो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको जिकिर गरेका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, उनले भने ।  

यसैगरी, उनले प्रधानमन्त्री पत्नी आरजु देउवा दिल्लीमै रहेका वेला आफनो पनि भ्रमण हुनुलाई संयोग मात्रै भएको बताए । ‘उहाँको भ्रमणको उद्देश्य र मेरो भ्रमणको उद्देश्य फरक छ । मक्सद फरक–फरक हो । आजैमात्र प्रधानमन्त्रीसँग मैले सोधेको थिएँ । दिल्लीमा उहाँसँग (आरजु) भेट हुनसक्छ’ उनले भने–‘तर, हाम्रो भ्रमणको मक्सद फरक–फरक छ । सायद उहाँ स्वास्थ्य उपचारलाई जानुभएको होला ।’

उनले आफ्नो भ्रमण राजनीतिक भ्रमणका रुपमा रहेको भन्दै सद्भावना भ्रमणका रुपमा लिनुपर्ने बताए ।  भारत भ्रमणका क्रममा आफूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर कुराकानी हुने पनि बताए । 

नेपाल–भारत सम्बन्धमा दक्खल राख्ने पत्रकार युवराज घिमिरेले भने दाहालको दिल्ली भ्रमणलाई चीनसँग जोडेर हेर्नुपर्ने बताएका छन्। उनले बीबीसँगको कुराकानीमा भनेका छन्– ‘नेपालमा आफ्नो राजनीतिक र आधारभूत हितहरूलाई सुनिश्चित गर्न भारत र चीनबीच एक किसिमको प्रतिस्पर्धा छ। उनीहरूकोे नेपालका राजनीतिक दलहरूसँग एउटा नीतिगत र अरू स्थायी सम्बन्ध भएन। सत्ताको लागि सबै एक ठाउँमा आउने भए पनि दुवैले सबै पार्टीहरूसँग सम्बन्ध राख्नुपर्छ भनेर बुझेका छन् र त्यतातिर गइरहेका छन् भन्ने मलाई लाग्छ।’

उनले पछिल्लो पटक अमेरिकी रक्षा साझेदारी स्टेट पार्टनरशिप कार्यक्रमसम्म आइपुग्दा नेपालमा बढिरहेको अमेरिकी प्रभावका बारेमा पनि दिल्ली र बेइजिङ एक ठाउँमा उभिएको टिप्पणी गरे। ‘मलाई लाग्छ जब नेपाल सरकार अर्थात् प्रधानमन्त्री त्यसको पक्षमा देखिन थालेका थिए त्यस बेला भारत पहिलो पटक अमेरिका यो हदसम्म नेपालमा आउनु उसको सुरक्षा र सामरिक हितका लागि ठिक छैन भन्ने निष्कर्षमा पुग्यो’ उनले भने।

‘उसले आफ्ना आधारभूत हित र स्वार्थका कुराहरू उसले सबै नेपालका महत्वपूर्ण दलहरूसँग कुरा गर्नुपर्ने अवस्था आयो।’ उनका अनुसार भारतको संस्थापनपक्ष र चीन दुवै अहिले नेपालमा आफ्नो पक्षमा उभिने कुनै पनि स्थायी शक्ति नरहेको ठान्छन्।

विगतमा राजसंस्था र नेपाली कांग्रेससँग मिलेर दुवै देशहरूले काम गर्ने गरेको भए पनि अहिले दुवै देशले चुनौती सामना गर्नु परिरहेको उनको विश्लेषण छ। पत्रकार घिमिरेले भने, ‘राजतन्त्र भारतकै सक्रियतामा समाप्त भएको थियो। आफैँले अघि बढाएको भए पनि माओवादीको विश्वमान्यता भारतविरुद्ध देखियो। नेपाली कांग्रेस पनि अझै कमजोर भएर आएको अवस्था थियो। त्यही भएर अहिलेको परिस्थितिमा माओवादी कमजोर त भएको छ, तैपनि उसलाई आफ्नो विश्वासमा लिनु आवश्यक ठानेर प्रचण्डलाई निम्तो गरिएको जस्तो मलाई लाग्छ।’
 

पुष्पकमल दाहाल आरजु देउवा लिउ जियान्छाओ

विशेष