News

मोदिलाई भेट्नु अघि प्रचण्डले किन उठाए १९५० को सन्धिको कुरा ?

मोदिलाई भेट्नु अघि प्रचण्डले किन उठाए १९५० को सन्धिको कुरा ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने तयारीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीको कार्यक्रममा बोल्दै उनले सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका हुन्। कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने उनको भनाई छ।

त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारे। 

‘सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदनको विषय कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने आवश्यकता छ’ उनले भने–‘असल छिमेकीको भावनाबाटै हामीले समस्या समाधान गर्न सक्छौं।’

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्न सकिने बताए । नेपाल र भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सुझाव दिन दुई देशकै प्रतिनिधिको सहभागितामा प्रवुद्ध व्यक्ति समूह गठन भएको थियो ।

उक्त समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म नेपाल र भारत दुबैतर्फको सरकारले बुझेको छैन । पहिले भारतीय प्रधानमन्त्रीले र त्यसपछि नेपालका प्रतिनिधिले बुझ्ने भनिए पनि भारतीय प्रधानमन्त्रीले अहिलेसम्म समय दिएका छैनन् ।

सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा दाहाल शुक्रवार भारत भ्रमणमा गएका हुन् । यस क्रममा उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । 

यो पनि,

१९५० को सन्धि

विशेष