News

चीनको पक्ष लागेर अमेरिका विरुद्ध फेरी बोले नारायणकाजी

चीनको पक्ष लागेर अमेरिका विरुद्ध फेरी बोले नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले चीन विरुद्ध नेपालको भुमी प्रयोग गर्न चाहेको दावी गरेका छन् । सत्ता साझेदार दलकै नेताले चीनलाई कमजोर पार्न अमेरिकाले नेपाली भूमि प्रयोग गर्न चाहेको दाबी गरेपछि यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

शनिबार आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’ छलफलमा भाग लिँदै नेता श्रेष्ठले यस्तो भनेका हुन्। ‘अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहन्छ। अग्रशक्तिको रुपमा रहेको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ’– उनले भने।

यस विषयमा नेपाल गम्भिर नभएको ठीक दिशातिर नगएको पनि उनले जिकिर गरे। ‘हामी कता जाँदैछौँ, हामी ठीक दिशातिर गइरहेको अनुभूति हुँदैन। हामी स्वतन्त्र नीतिबाट विचलित हुन लागिरहेका त छैनौं?’– उनले प्रश्न गरे।

पुर्खाले छाडेको गौरवशाली देश र राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता ब्यक्त गरे। उनले यस अघि अमेरिकी अनुदान सहयोग एमसीसीको पनि विरोध गरेका थिए । 

सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रसारण लाइन निर्माण अगाडि बढाइने कुरा प्रस्तुत भएकोमा पनि उनले प्रश्न उठाएका थिए ।

एमसीसी परियोजनाअन्तर्गत १२ बुँदे ब्याख्यात्मक घोषणा कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा अमेरिकाले एक शब्द पनि नबोलिकन एमसीसी अन्तर्गतका कार्यक्रम ल्याएकोमा आपत्ति जनाएका थिए ।

उक्त योजना एमसीसी योजनाअन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा अर्थमन्त्रीले आफैंले प्रस्ताव राखेका हुन् भन्नेबारे उनले सरकारसँग जवाफ मागेका थिए । 

नारायणकाजी श्रेष्ठ

विशेष