News राजनीति

शेखरलाई गृहमन्त्रीको दनक – छ महिनापछि ‘पोलिटिकल स्टन्ट’को अर्थ छैन

शेखरलाई गृहमन्त्रीको दनक – छ महिनापछि ‘पोलिटिकल स्टन्ट’को अर्थ छैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको खिल्ली उडाएका छन्। माओवादी गठबन्धनबिना चुनाव लड्नै नसक्ने भन्दै उनले कांग्रेसले साथ छोडे अन्तै गएर टाँसिने दावी गरे।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा नेताहरूले प्रश्न उठाएपछि उनले यही गठबन्धन रह्यो भने जसको सिट पनि जान सक्ने बताए। ‘माओवादी गठबन्धनबिना एक्लै चुनाव लड्दै लड्दैन। हामीले गठबन्धन गरेनौँ भने अर्को पार्टनर खोजिहाल्छ’ उनले भने–‘यही गठबन्धन कायम रह्यो भने जसको पनि सिट जान सक्छ, त्यसका लागि सबै तयार रहनुपर्छ।’

खाँडले नेता शेखर कोइरालाले पोलिटिक स्टन्ट गर्न खोजेको आरोप लगाए। कोइरालाले महाधिवेशनका बेलामा आफूमाथि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सुराकी लगाएको आरोप लगाएका थिए। त्यसको खण्डन गर्दै खाँडले कोइरालाले अहिले मिडियामा त्यस विषयमा बोलेर मिडिया स्टन्ट मात्रै गरेको बताए।

‘गृह प्रशासनको नियमित ड्युटी अनुसार नै सूचना संकलन हुन्छ। कसैको सुराकी चियो चर्चा भएको भए त्यसै बेला भन्नु पर्छ’ उनले भने–‘छ महिनापछि मिडियामा पोलिटिकल स्टन्टको कुनै आवश्यक छैन।’ 

गृहमन्त्री खाँणले हतियार खरिद गर्ने योजना हाललाई रोकिएको पनि जानकारी दिए । हतियार खरिद गर्न सरकारसँग आवश्यक रकम नभएको बताएका उनले हतियार खरिद गर्नु आवश्यक भए पनि तत्कालका लागि उक्त योजना रोकिएको जानकारी दिए ।
 

नेपाली काँग्रेस

विशेष