News

‘ओलीलाई गरेको प्रश्नले हामीलाई खेदिरहेको छ, सरकारको बचाउ गर्न सक्ने अवस्था छैन’

‘ओलीलाई गरेको प्रश्नले हामीलाई खेदिरहेको छ, सरकारको बचाउ गर्न सक्ने अवस्था छैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आफूहरुलाई अहिले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको बताए छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उनले भने ‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं ? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ? हिजो ओली सरकारको तीव्र आलोचना ग¥यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’

पार्टीले अर्थ मन्त्रालय आफ्नो भागमा नराखेर गल्ती गरेको पनि महामन्त्री थापाले बताए। उनले आफूहरुलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर नबस्ने पनि बताए । ‘घेराबन्दी गर्ने खेल भइरख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं’ उनले भने–‘चुप लागेर बस्दैनौं। 

उनले पार्टीमा अपमान नगरे गुटको भेला बस्नै नपर्ने पनि बताए । ‘विगतमा कहाँ कसले भेला गरे, त्यो फोटो गुगल हेरेर देखिन्छ’ उनले भने–‘ठूलो घर हुनेले ठूलो घरमा बैठक बोलाए, सानो घर हुनेले पार्टी प्यालेसमा बोलाए।’

विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ सहनुपरेको भन्दै थापाले अहिले पार्टीभित्रै दम्भ सहनुपरेको बताए । ‘ओलीले दम्भ देखाए, उनको पार्टी फुट्यो’ उनले भने–‘ओलीको दम्भको विरोध गर्ने हामीले पार्टीको दम्भ सहनुपर्ने ?’

यसैगरी, अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई असहयोग नगरेकोस्पष्टिकरण दिए । सभापतिले विधान अनुसार काम नगर्दा घचघच्याएको भन्दै त्यसलाई असहयोगको रुपमा नलिन पनि आग्रह गरे ।

विगतमा केपी शर्मा ओली सरकारले गरेको गलत कामको कांग्रेस नेतृत्वले अझै नसच्याएको भन्दै आलोचना गरे। ओलीले प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेको शक्ति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएकामा असन्तुष्टि जनाए। ‘केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो’ उनले भने–‘एक वर्ष पुग्दा पनि त्यसमा करेक्सन गरिएको छैन।’
 

विशेष