News राजनीति

कोही वामपन्थी भए आउनोस, कांग्रेसको पुच्छरसँग चै एकता हुँदैनः ओली

कोही वामपन्थी भए आउनोस, कांग्रेसको पुच्छरसँग चै एकता हुँदैनः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको पुच्छर बनेर हिँड्ने, अनि वामपन्थीबीच एकता गरेर जाने कुरा हुनै नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकताका आग्रह गरेपछि ओलीले त्यसको जवाफ दिएका हुन। ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह पनि गरे।

एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने वताएका उनले कम्युनिस्ट नेतृत्वको सरकार ढालेर हिँड्नेहरू वामपन्थी हुनै नसक्ने जिकीर गरे। ‘नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु’ उनले भने–‘चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ ? खै, वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊँ । एमालेसँग मिलेर कांग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं।’ 

उनले नेता श्रेष्ठलाई लक्षित गर्दै विचार नमिल्ने पार्टीमा किन बस्ने? भनेर प्रश्न पनि गरे। ‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पु-याउनुप-यो। पार्टीलाई पु-याउनुहुन्न भने विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरू’ ओलीले भने–‘अनि पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ त्यो मात्रै छैन होला नि।’ पार्टी वा गठबन्धनमा जे जस्तो भए पनि तालीमात्रै बजाउने प्रवृत्तिविरूद्ध कुरा उठाएको भन्दै ओलीले उनको पनि प्रशंसा गरे।

देउवा नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिएको आरोप पनि लगाए । ००७ सादेखि ०१२ सालसम्म पनि नेपालको राष्ट्रियतामाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान सरकारले राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए । 
 

केपी शर्मा ओली नारायणकाजी श्रेष्ठ

विशेष