News

राहतमा कांग्रेस–एमालेको भागवण्डाः विवादले झडप, १८ जना घाइते

राहतमा कांग्रेस–एमालेको भागवण्डाः विवादले झडप, १८ जना घाइते

पश्चिम नवलपरासीमा कोरोना प्रभावितलाई राहत भाग लगाउने विषयमा पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा दुवै पक्षबीच झडप हुँदा १८ जना घाइते भएका छन् ।

वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा दवै पक्षबची कुरा वाझिएको थियो। सोही विषय वढ्दै जाँदा दुई पार्टीका कार्यकर्ता र जनप्रतिनिधिबीच झडप भएको थियो । झडपमा कांग्रेसका ८ र एमालेका १० जना कार्यकर्ता घाईते भएको प्रहरीले जनाएको छ ।

दुवै पक्षले इँटा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । घाइते १८ मध्ये ६ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको टाउकोमा चोट लागेको र अवस्था खतरामुक्त रहेको एसपी ऋषिराम कंडेलले वताए।

कोरोनाका समयमा घरमा आयश्रोत नभएका र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अतिविपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले गाउँपालिकाका ७ सय जनाका लागि ७० लाख रुपैयाँ आएको थियो । ७ वडा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेका थिए ।

एमालेका वडाअध्यक्ष हुँदा पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले काटेर पठाएको आरोप लगाएको छ भने अर्कोपक्षले पहिला गैर विपन्न व्यक्तिहरुको नाम पठाएको आरोप लगाएको छ। यही विषयमा भनाभन हुादा कुटाकुटको अवस्था आएको हो।

वडा नम्बर ५ का मात्रै ४ सय १८ जनाले अतिविपन्न भन्दै फाराम भरेका थिए । सुरुमा सबैको नामावली वडाध्यक्षले पालिकामा पठाए। तर पालिकाले १ सय ६ जनाको नाम पठाउने भनेपछि वडाध्यक्षले सोही अनुरुप नाम पठाए। ती नाम उपर दाबी विरोध गर्न पालिकाले सूचना जारी गर्यो। सोही सूचनाअनुसार वडाध्यक्ष चौधरीले वडाबाट पठाएको नामावलीलाई गाउँपालिकाले थपघट गर्दै नामावली निकालेको आरोप लाग्यो। ३२ जनाको सूची हटाउन निवेदन पर्यो।

विवादपछि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले १२ जना आफ्ना मान्छे राख्ने र कांग्रेसबाट निर्वाचि वडाध्यक्षले बाँकी २० जना आफ्ना मान्छे राख्ने सहमति भयो। सहमतिमा वडाध्यक्षलाई दाबी विरोध फिर्ता लिनुपर्ने बताए पनि उनले फिर्ता नलिएपछि विवादले उग्र रुप लिएको हो । 

यही विवादमा कुटाकुट हुँदा १८ जना घाइते भएको कँडेलले वताए ।
 

झडप

विशेष