News

संसदीय छानविन समितिले हात पार्यो अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्क

संसदीय छानविन समितिले हात पार्यो अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्क

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले डिलिट गराएको भनिएको सीसीटीभी फुटेजको ड्राइभ (हार्डडिस्क) संसदीय विशेष समितिले हात पारेको छ। अर्थमन्त्रालयले संसदिय छानबिन समितिलाई शुक्रवार उक्त हार्डडिक्स उपलब्ध गराएको हो।

समितिले त्यसमा भएका सबै गतिविधि भने हेरिसकेको छैन। बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको आरोप लागेपछि सीसीटीभी फुटेजेको विषय चर्चामा छ। फुटेज माग गर्दा अर्थमन्त्रालयले डिलिट भएको भन्दै उपलब्ध गराएको छैन।

उक्त समयको फुटेज कैद भएको सीसीटीभीको हार्ड डिस्क प्राप्त भएको समितिका एक सदस्यले बताए। अर्थमन्त्री शर्मा विरुद्ध लागेको आरोपका विषयमा छानबिन गर्न २२ असारमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष संसदीय समिति गठन गरेका थिए।

समितिमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, खगराज अधिकारी र बिमला विक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रबाट शक्ति बस्नेत र देवप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा एकीकृत समाजवादी पार्टीबाट सरला कुमारी यादव र जनता समाजवादी पार्टी (जसपा)बाट  सुरेन्द्र प्रसाद यादव छन ।

विशेष समितिमा रहेकी कांग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुख चयन भएपछि उनको ठाउँमा मानबहादुर विक सदस्य बनेका छन्।

छानबिन समिति गठन गरेकै दिन अर्थमन्त्री शर्माले संसदमा सम्बोधन गरेर पदबाट राजीनामा दिएका थिए। समितिले २८ असारदेखि काम सुरु गरेको छ। संसदीय विशेष समितिले अर्थमन्त्रालयका अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका डीजी, भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकहरुसँग शनिबार बयान लिने भएको छ।

उनीहरुसँग छुट्टाछुटै बयान लिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। संसदीय छानबिन समितिका अर्का एक सदस्यका अनुसार छानबिन समितिलाई दिइएको १० दिनमै प्रतिवेदन बुझाउने तयारी छ।
 

जनार्दन शर्मा

विशेष