मोदीलाई भेट्ने प्रचण्डको प्रयास असफल, इच्छा मारेर स्वदेश फर्किदै
![मोदीलाई भेट्ने प्रचण्डको प्रयास असफल, इच्छा मारेर स्वदेश फर्किदै](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/prachanda-b5e8d.jpg)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रयास असफल भएको छ। तीन दिने भ्रमणमा भारत गएका दाहालले जाँदैखेरी मोदीसँग भेट्ने वताएका थिए ।
सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका अध्यक्ष दाहालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए ।
तर, भ्रमणको अन्तिम दिन आइतबार प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ । कुन कारणले मोदीसँग भेट भएन भन्ने खुलाईएको छैन। ‘जसले निम्तो दिनु भएको थियो त्यो नै अन्तिम भेट थियो,’ दाहालको सचिवालय भन्यो, ‘यसपटकको भारत भ्रमण उपलब्धिमुलक भएको छ ।’
प्रचण्ड आज (आइतबार) साँझ नेपाल फर्किने कार्यक्रम छ । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भारत भ्रमणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको बताएका छन्।
नड्डासँगको भेटपछि उनले भने–‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भइरहेको छ। संसारको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो। यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्ने बारेमा बुझ्दा म उत्साहीत भएको छु।’
उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए। अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहीत भएको पनि बताए। उनले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको बताए।
अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टीबीचको सम्बन्ध बिस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए।