News

दिलमायाको हत्या भएको निस्कर्षः खिलबहादुर विरुद्ध सवुत दह्रो पार्दै प्रहरी

दिलमायाको हत्या भएको निस्कर्षः खिलबहादुर विरुद्ध सवुत दह्रो पार्दै प्रहरी

लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ । प्रारम्भिक अनुसन्धानमा सुनारले आत्महत्या गरेको देखिएको थियो। सोही अनुसार मुचुल्का तयार गरेपनि विस्तृतमा अनुसन्धान गर्दै जाँदा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।

प्रहरी वृत्त, बालाजुले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । गएको असार ११ गते बिहान करिब ११ बजे नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्। 

सूचना पाएलगत्तै वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो। गायिका सुनारका प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते पक्राउ परे।

उनी पक्राउ परेसँगै मृतक गायिकाका आफन्तले कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिए। प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको र त्यसका लागि प्रेमी श्रेष्ठले बाध्य पारेको विश्लेषण प्रहरीको थियो। तर, अन्तिम समयमा श्रेष्ठमाथि कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षमा प्रहरी पुगेको छ।

सुनारको शव ओछ्यानमा हुनु, घटनाको केही समयअघि फेसबुकमा बाँच्न नसक्ने भन्दै स्टाटस लेख्नु तर उक्त स्टाटस लेख्न प्रयोग भएको भनिएको मोबाइल अहिलेसम्म फेला नपर्नु, गायिका सुनारको सल लिएर प्रेमी फरार हुनुजस्ता कारणले सुनारको  हत्या भएको प्रहरीको निष्कर्ष छ। 

प्रहरी नियन्त्रणमा पुगेपछि श्रेष्ठले सुरुमा झुठो बयान दिएका थिए । पछि राति सँगै सुतेको र बिहान झुण्डिरहेको अवस्थामा देखेपछि निकालेको उनले बयान दिएका थिए । आत्तिएपछि आफू उनी झुण्डिएको सल लिएर भागेको बताएका थिए । 
प्रहरीका अनुसार श्रेष्ठ र दिलमाया प्रेम सम्बन्धमा थिए । तर पछिल्लो समय उनीहरुबीच सम्बन्धमा दरार आउँदै गएको थियो । सुन व्यवसायी श्रेष्ठ र सुनारको करिव १५ महिनाअघि चाबहिलको दर्पण छायाँ दोहोरी साँझमा भेट भएको थियो । त्यसपछि उनीहरुबीच निकटता बढेको थियो ।

तर पछिल्लो समय सुनारले तारन्तार फोन गर्ने गरेको श्रेष्ठ वयान दिएका छन् । घर परिवारसँग हुदा फोन उठाउन नमिल्ने भएपछि उनले काट्ने गरेका थिए । सोही विषयमा उनीहरुको मनमुटाव सुरु भएको देखिएको छ।

३० वर्षीया गायिका दिलमाया लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।
 

दिलमाया सुनार

विशेष