News अपराध सुरक्षा

धर्म नमिल्ने केटासँग प्रेम बसेपछि यसरी गयो बालिकाको ज्यान

धर्म नमिल्ने केटासँग प्रेम बसेपछि यसरी गयो बालिकाको ज्यान

फरक धर्मको केटासँग प्रेम गरेकै कारण पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरकी १४ वर्षिया बालिकाको ज्यान गएको छ। बालिकाले विष सेवन गर्दा पनि कोठाभित्र थुनेर राखेका कारण उनको मृत्युमा परिवारका सदस्यकै मिलेमतो देखिएको प्रहरी अनुशन्धानबाट खुलेको छ।

प्रहरीले बुधबार राति करिब ११ बजे विश्रामपुर स्थित ढोङ्गी खोलाको स्मशानघाटबाट १४ वर्षिया बालिकाको आधि जलेको शव शव नियन्त्रणमा लिएको थियो। उनी स्थानीय श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले पाएको जानकारी अनुसार किशोरीले घरमै विष सेवन गरेकी थिईन। तर, परिवारका सदस्यले यो विषय प्रहरीसम्म पुग्न दिएनन्। वरु गाउँलेसम्मलाई खवर नगरी बालिकाको शव मोटरसाईकलमा हालेर स्मशानघाटमा पुर्याए। कसैलाई खवर नगरी शव जलाउन थालेपछि प्रहरी चौकी महुवनको टोलीले शव नियन्त्रणमा लियो।

प्रहरी पुग्दा शव जलिरहेको थियो। पानीले आगो निभाउने डरले चिनी र पेट्रोल हालेर आगो लगाईएको थियो। जव प्रहरी त्यहाँ पुग्यो, मलामी गएका सबै फरार भए। प्रहरीले बाँकी शव मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइयो ।

शव लैजान प्रयोग गरिएका ना ४२ प ७६९७ र ना २१ प ६८७ नम्बरका दुई वटा मोटरसाइकलसहित मृतककी आमा ४० वर्षीया आशा देवी, ठूली आमा ५० वर्षीया उर्मिला देवी र विश्रापुर छपकैयाकी १८ वर्षीया युवतीसहित नियन्त्रणमा लियो। परिवारका पुरुष सदस्य भने अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक किशोरीकी दिदी मार्फत उनले फरक धर्मका युवकसँग प्रेम गर्ने गरेको जानकारी परिवारलाई भयो। केटाले नै दिएको मोबाइलबाट उनीहरु विच कुराकानी हुने गरेको पाईएपछि मोवाईल खोसेर उनलाई कोठमा थुनेर राखियो। अवस्था केही सहज भएपछि उनीहरु विचमा फेरी भेटघाट सुरु भयो।

३/४ दिन अघि मात्रै भेटघाटकै क्रममा दुवै जनालाई फेला पारेपछि किशोरीलाई घरपरिवारका सदस्यहरूले निर्घात कुटपिट गरे । घरबाट बाहिर आउन–जानमा झन कडाइ गरियो । त्यसपछि उनले दहि च्युरा खाने दिन असार १५ गते आफ्नै पसलमा बिक्री गर्न राखिएको बिषादी खाईन।

उनले विष सेवन गरेको परिवारका सदस्यलाई पनि जानकारी भयो। तर, उनलाई अस्पताल नलगि कोठामै थुनेर राखिएको प्रहरीले जनाएको छ। यो कुरा मृतकी दिदीले प्रहरीमा दिएको बयानमा खुलेको प्रहरीको भनाई छ। विष सेवन गरेको जानकारी पाएर पनि कोठामा थुनेर राखेकै कारण वहिनीको मृत्यु भएको उनले वताएकी छिन्।

त्यसपछि परिवारका सदस्यहरू सवै मिलेर मोटरसाईकलमा हाली शवलाई ढोङ्गी खोला पुर्याएको पाईएको छ। पक्राउ परेका तीन जना विरुद्ध ज्यान मार्ने कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
 

कर्तव्य ज्यान

विशेष