News

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर उनले सोमवार राजीनामा दिएका हुन।

धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालत गुहारेका थिए । तर, गत शुक्रबार सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएपछि उनले राजिनामा दिएका हुन।

उनको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । सहयोगी मार्फत पुनः विदा माग गरेपनि आईजीपी सिंहले उनको विदा अस्विकार गरेका थिए ।

एक महिना मात्रै कार्यावधि बाँकी रहेका पोखरेलले त्यसअघि नै राजिनामा दिएका हुन। उनी साउन २० गते उमेर हदका कारण अवकास हुँदै थिए । आईजिपी सिंहको अन्डरमा काम गर्न नसक्ने जनाउँदै आएका पोखरेलसँग तत्कालै हाजिर हुनु पर्ने वा राजिनामा दिनुपर्ने दुई विकल्प थिए । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिएका हुन।
 

विश्वराज पोखरेल

विशेष