News

रावलको प्रचण्ड लक्षित टिप्पणी– आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ

रावलको प्रचण्ड लक्षित टिप्पणी– आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ

नेकपा एमालेका नेता भीम रावलले हालै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणलाई लक्षित गर्दै कुनीतिमा आशे र दासे प्रवृत्ति मौलाएको टिप्पणी गरेका छन् । उनले दाहालको कुटनीतिलाई ‘झुकनीति’ को संज्ञा पनि दिएका छन्।

भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका दाहाल आइतबार साँझ स्वेदश फिर्ता भएका थिए। भ्रमणमा जाँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भन्दै घोषणा गरेर गएका दाहाललाई अन्तिम अवस्थामा मोदीले भेट दिएनन् । स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले भारतमा प्रशस्त मान सम्मान पाएको बताएका थिए।

उनले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताए। ‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो’– उनले भने।

यही विषयमा टिप्पणी गर्दै रावलले ट्वीटरमा लेखेका छन्–‘झुकनीतिको आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ । देशले के उपलब्धि पायो भनी मूल्याङ्कन नगरी कति मान, सेवा, सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिष्ट पार्टीको अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि?’

उनले अध्यक्ष दाहालको भ्रमण विषय वस्तु र पुर्वतयारी विना नै भएको र उदेश्य विहिन भएको पनि जनाएका छन् । ‘उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्रीसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो’ उनले लेखेका छन्–‘कति निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति! यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔं!’

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा दाहाल नयाँ दिल्ली पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने प्रचण्डको योजना रहे पनि उनले भेट्न पाएनन्। वरु प्रधानमन्त्री शेरवहादुर देउवा पत्नि आरजु देउवासँग भेट गरेर फर्किएपछि उनको आलोचना भईरहेको छ। भारतीय नेतालाई साक्षि राखेर राजनीतिक दाउपेज र लेनदेनका प्रचण्ड दिल्ली पुगेको आसयमा उनको आलोचना भईरहेको छ।

भीम रावल पुष्पकमल दाहाल

विशेष